मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जिल्ला सुरक्षा समिति चितवनद्वारा सीमास्तम्भको अवलोकन

जिल्ला सुरक्षा समिति चितवनद्वारा सीमास्तम्भको अवलोकन


चितवन । जिल्ला सुरक्षा समिति चितवनले आइतबार माडी नगरपालिकामा पर्ने नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण गरेको छ । 
 
चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लसहितको टोली स्तम्भको वर्तमान अवस्था बुझन त्यहाँ पुगेको हो । 
 
चितवनको तीनवटा स्थानमा नेपाल–भारत स्तम्भहरु क्रमश ः ४४, ४५ र ४६ नम्बर पर्छ । माडीको दक्षिणी क्षेत्रमा पर्ने चुरे पर्वतमा ४५ नम्बरको स्तम्भ रहेको दशगजा क्षेत्रमा ऐतिहासिक पर्यटकीय क्षेत्र सोमेश्वरगढी रहेको छ । 
 
यस क्षेत्रमा नेपाली भूमि भारतले अतिक्रमण गर्न थालेपछि पानी ढलको सिद्धान्तअनुसार सीमा निर्धारण गरिएको स्थानीय हरि भुसालले बताए । 
 
भारतले यहाँ रहेको सोमेश्वर मन्दिरमा पूजा गर्न आउने निहुँमा पटक–पटक सीमा स्तम्भ सार्ने प्रयास गर्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाली भूमि अतिक्रमणको आशङ्का गर्दै माडीका स्थानीयवासीहरुले अहिले यस क्षेत्रमा चहलपहल बढाएका छन् । 
 
राष्ट्रियता र धार्मिक पर्यटनको महत्व बोकेको यस ठाउँ नेपालको १०० पर्यटकीय गन्तव्य मध्येको एक हो । बडा दशैँ र चैते दशैँको समयमा विशेष धार्मिक महत्व रहेको सोमेश्वर कालिकामा नेपाल र भारतका लाखौँ भक्तजनहरु जाने गर्दछन् । 
 
प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार सुरक्षा समितिले सीमा निरीक्षणको काम निरन्तर गरिरहेको जानकारी दिए । आइतबार अवलोकन पश्चात बस्नेतले स्तम्भ क्षेत्र वरपर दुवै देशबीच कुनै पनि विवाद नभएको प्रतिक्रिया दिए । 
 
उनले सीमा क्षेत्रमा कुनै पनि विवाद उत्पन्न हुन नदिन दुवै देशका प्रतिनिधिले पटकपटक बैठक बस्ने गरेको र एकै साथ सीमा क्षेत्रमा अनुगमन एवं निरीक्षण गर्ने गरेको उनको भनाइ छ ।