मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमाका विषयमा सरकार अल्मलिँदैन : प्रवक्ता बाँस्कोटा

सीमाका विषयमा सरकार अल्मलिँदैन : प्रवक्ता बाँस्कोटा


वालिङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । 
 
देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज यहाँ अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए ।
 
“सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ”, सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, “विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पु¥याउनेछौं ।”
 
“सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन”, प्रवक्ता बाँस्कोटाको भनाइ थियो । 
 
“सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ”, प्रवक्ता बाँस्कोटाले भने, “सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ ।”
 
आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।
 
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरिन् । 
 
राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने उनले बताइन् ।
 
एकसय उत्कृष्ट गन्तब्यमा परेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ नं वडामा पर्ने शाह वंशको कुल देवताका रुपमा रहेको आलमदेवी मन्दिर स्याङ्जाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको स्थल हो । 
 
वेगमाता वेगेश्वरी कुल देवी अलप भएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करीब एक हजार मिटरभित्रबाट सुरुङ हुँदै कालीगङ्गाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेन पातीको फेदमा आएर बसेको किंवदन्ती रहेको छ ।
 
भीमसेन पातीको रुखबाट अलप भएकाले सोही दिनदेखि वेगमाता वेगेश्वरीलाई सजिलो रुपमा अलप देवीभन्दा भन्दै अपभ्रंश भई आलमदेवी बन्न पुगेको कथन छ । 
 
अत्यन्त सक्रिय देवीका रुपमा चिनिएकी आलमदेवी वैद्धिक विधिअनुसार अष्टमात्रिकाका रुपमा जागरण गराइएकाले सबै मानवलाई आफ्नै सन्तानसरह माया र आर्शिवाद दिने र अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ अनुष्ठान भएकाले दर्शनार्थीलाई निरोगी, भाकल एवम् इच्छाइएको वरदान माग्दा पुग्ने र आयुसमेत लम्बाइन सकिने वरदान माग्दा पुग्ने विश्वास रहेको छ । रासस