मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालका भूभाग भारतको नयाँ नक्सामा परेकोमा कांग्रेसको आपत्ति

नेपालका भूभाग भारतको नयाँ नक्सामा परेकोमा कांग्रेसको आपत्ति


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 
 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन सरकारसँग माग गर्नुभएको छ । कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको उल्लेख गर्दै उहाँले नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य भएको बताएका छन् । 
 
यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आज एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न गरेको छ । 
 
अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहनाबमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने उल्लेख गरेका छन् । 
 
“कालापानी र लिपुलेक हाम्रा अभिन्न अङ्ग हुन् । भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल सुरु गरोस्”, विज्ञप्तिमा उल्लेख छ ।