रौतहट । सरकारी वकिल कार्यालय रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा आज मुद्दा दर्ता गरेको छ ।
आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खणीन्द्रराज कटुवालले जानकारी दिएका छन् ।
आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समय अभावका कारण थुनछेक बहस भने सोमबार नभई मङ्गलबारबाट मात्रै हुने भएको छ ।
बाह्र वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।
आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशङ्कर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको उनले जानकारी दिए ।
गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया