मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त

त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्राडा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गएको प्रधानमन्त्रीको सचिवालयबाट जनाइए पनि यसको आधिकारिक जानकारी दिइएको छैन ।
 
नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी प्राडा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको पूर्वअध्यक्ष हुन् । 
 
त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीलाई निमित्त दिइएको थियो । सर्च कमिटीले बाँस्कोटासहित डा भगवान् कोइराला र डा चन्द्रमणि पौडेललाई सिफारिस गरेको थियो । डा बाँस्कोटाले सोमबार साँझसम्म पद बहाली गर्ने तयारी रहेको बुझिएको छ ।
 
उपकुलपति रिक्त रहेका पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका लागि सिफारिस गर्न आन्तरिक सूची (रोष्टर) तयारीका  लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही कात्तिक ९ गते सात दिनको समय दिई व्यक्तिगत विवरण पठाउन सूचना प्रकाशन गरेको थियो । 
 
उपकुलपति नियुक्तिका लागि यसरी सूचना गरिएको यो पहिलो पटक हो । प्राप्त विवरणका आधारमा नाम सिफारिसका लागि सम्बन्धी सर्च कमिटीले काम गरिरहेको जनाएको छ । रासस