मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको समृद्धिमा चीन र भारतको साथ : प्रचण्ड

नेपालको समृद्धिमा चीन र भारतको साथ : प्रचण्ड


महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन् । 
 
महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकको विकास चासोमा नेपाल परेको बताए । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासबारे साझा चासो व्यक्त गरेको प्रचण्डको भनाइ थियो ।
 
नेपालको विकास र समृद्धिका लागि कृषिमा आधुनिकीकरण आवश्यक भएको प्रचण्डको भनाइ छ । “हाम्रो विकास र समृद्धिको मुख्य पक्ष कृषि नै हो”, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, “यस कुरालाई हृदयङ्गम गरेर नै नेकपा नेतृत्वको सरकारले तराईका फाँट÷फाँटमा सिँचाइ पु¥याउन सुनकोशी–कमला र सुनकोशी–बाग्मती डाइभर्शन योजना अघि सारेको हो ।” 
 
नेकपाका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये धेरैजसो नेकपाले सुरु गरेको दाबी गरे । जनताको साथ लिएर आफ्नो पार्टी नेतृत्वको सरकार समृद्धि अभियानमा निरन्तर जुटिरहेको पौडेलले बताए। 
 
त्यसैगरी समारोहलाई सम्बोधन गर्दै सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी एक वर्षभित्रै मुलुक पूर्ण साक्षर घोषणा गरिने गरी काम भइरहेको बताए । 
 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मैथिली भाषाका महाकवि विद्यापतिको स्मृतिमा उहाँको कर्मस्थल महोत्तरीको पिपरा गाउँपालिकाको दनौलीबनौलीमा रमणीय पार्क बनाउने प्रतिबद्धता जनाए । 
 
नेकपाले उपनिर्वाचनलाई लक्षित गरी शुभकामना आदानप्रदान नाम दिएर आयोजना गरेको जनसभालाई नेकपाका केन्दीय सदस्यहरु रामदयाल मण्डल, रामकुमार शर्मा र पार्टीका प्रदेश–२ अध्यक्ष प्रभु साहसहितले सम्बोधन गरेका थिए । कार्यक्रम नेकपा महोत्तरी इन्चार्ज तथा केन्द्रीय सदस्य राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।