मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘छमछमी सिजन–४’ को विजेता बनिन् हेटौँडाकी सन्ध्या आचार्य

‘छमछमी सिजन–४’ को विजेता बनिन् हेटौँडाकी सन्ध्या आचार्य


काठमाडौँ ।  हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन् । 
 
शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन् ।  उनलाई पुरस्कारस्वरुप शनिबार अल्टो के–१० गाडी प्रदान गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरेका थिए । 
 
प्रतिष्पर्धामा महोत्तरीका नेसन सुस्लिङ मगर फष्ट रनर अप हुँदै नगद रु पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनर अप हुँदै नगद रु तीन लाख प्राप्त गरेका छन् ।  यसैगरी उत्कृष्ट सात जनाले एक लाख बराबरको उपहार प्राप्त गरेका छन् ।  
 
विसं २०७५ कात्तिक १७ गतेदेखि सुरु भएको यस प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । काठमाडौं, विर्तामोड, ईटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका अडिसन राउन्डहरुमा हजारौंको सहभागिता थियो ।
 
अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुस्ङि मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य छनोट भएका थिए । विसं २०६६ देखि नेपाल टेलिभिजनले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
 
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रस्फुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिए । 
 
काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुतिसहित भएको विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटीभी कोहलपुरले राति ८ः४० बजेबाट प्रत्यक्ष प्रसारण गरेका थिए । 
 
अडिसन राउन्डहरु पार गर्दै आएका प्रतियोगीहरुमध्येबाट पाँच जना प्रतियोगीहरु अन्तिम प्रतिष्पर्धामा थिए । अन्तिम प्रतियोगीहरुबाट एसएमएस भोटिङको आधारमा १ जना विजेता छानिएका छन् भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अपमा छानिए । भोटिङ लाइन शनिबार राति ९ः३० बजेसम्मका लागि खुला राखिएको थियो ।
 
प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित नृत्याङ्गना एवं अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुँइटेल रहेका थिए । 
 
नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले विं सं २०६६ सालमा  नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुवात भएको हो । 
 
छमछमी नाम दिएर सुरु गरिएको नेपालकै पहिलो रियालिटी शोको पहिलो सिजनमा झापाकी अनुजा अग्रवाल विजेता भएकी थिइन् भने सिजन २ मा झापाकै साजन तामाङ विजयी भए । यसैगरी तेस्रो सिजनको विजेता हेटौंडाका सरोज प्रजा भएका थिए । 
 
विभिन्न सिजनका विजेताहरुका साथै कार्यक्रमका अन्य प्रतियोगीहरुले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा आफ्ना प्रस्तुति दिँदै आएका छन् । जसले गर्दा कार्यक्रम छमछमी दर्शकमाझ झन् झन् लोकप्रिय बन्दै आएको छ ।
 
यस कार्यक्रमको प्रायोजन चौधरी ग्रुपले गरेको थियो भने बजार व्यवस्थापन कि एडभरटाइजिङले गरेको हो ।