मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर अस्पतालमा प्रहरी हबलदारको दादागिरी, दुई कर्मचारीमाथि निर्घात कुटपिट

भरतपुर अस्पतालमा प्रहरी हबलदारको दादागिरी, दुई कर्मचारीमाथि निर्घात कुटपिट


चितवन । भरतपुर अस्पतालभित्र रहेको पोस्टमार्टम कक्षमा कार्यरत दुई कर्मचारीमाथि अस्पतालमै रहेका प्रहरीले निर्घात कुटपिट गरेका छन् । 
 
कात्तिक ७ गते बिहानको समयमा अस्पतालमा कार्यरत ४९ वर्षका देव आनन्द राई र अर्का कर्मचारी ६० वर्षका पूर्ण विकलाई कुटपिट गरिएको हो । 
 
प्रहरी हबलदार जमिर अलिसेखको कुटाइबाट दुवैजना गम्भीर घाइते भएका हुन् । घाइते राईको ढाडमा नीलडाम छ भने विकको हात भाँचिएको छ । 
 
बिहीबार बिहान ६५ वर्षीया एक महिलाको पोस्ट मार्टम गर्ने क्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा आफूहरुमाथि लाठीले हानिएको घाइते राईले बताए । घाइते राईकी श्रीमती पुनम राईले आफ्नैअगाडि प्रहरीले कुटपिट गरेको बताइन् । 
 
प्रहरीले नै कुटेको घटनामा न्याय माग्न कहाँ जाने भनी आफूहरु घरमै आराम गरेर बसेको निरीहता व्यक्त गरिन् । घाइते राई हिँड्न सक्ने अवस्थामा छैनन् । घटना भए पनि भरतपुर अस्पताल प्रशासनले कुनै चासो तथा खोजबिन नगरेको उनको भनाइ छ । 
 
घटनाका आरोपित प्रहरी हबलदार जमिर अलिसेखले चोरी भएको गहना खोज्ने क्रममा कुरा नखोलेपछि सोधपुछका क्रममा कुटपिट गरेको स्वीकार गरेका छन् । 
 
कुटपिट गर्ने प्रहरी हबलदार अलिसेखविरूद्ध राई आफैँले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका छन् । उजुरीमाथि छानबिन गरी दोषीलाई कारबाही गरिने चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । 
 
यसैबीच, हबलदारबाट कर्मचारी कुटिएको घटना विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइसक्दा पनि चितवनका एसपी दानबहादुर मल्लले आफूलाई यस विषयमा केही जानकारी नभएको भन्दै पन्छिए । 
 
आफ्नै मातहतका प्रहरीले कुटपिट गरेको र ८ गते कार्यालयमा उजुरीसमेत परेको विषयमा एसपी मल्लले आफूलाई जानकारी नभएको बताएर गैरजिम्मेवारी प्रस्तुत गरेका छन् ।