मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ : सभापति देउवा

लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ : सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् । 
 
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उनले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । “सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ”, उनले भने ।
 
पूर्वप्रधानमन्त्री देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाए । सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उहाँको भनाइ थियो ।
 
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बीपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गरे । “कांग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको छ”, उनले भने । प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी कांग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए ।
 
सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा कांग्रेस विजयी हुने बताए । निर्वाचनमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने उनको भनाइ थियो । कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले हिजोका दिनमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढेमात्र कांग्रेस बलियो हुने बताए ।
 
कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति एवम् काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अरु बेला काङ्ग्रेस र निर्वाचनको बेला अरु दललाई भोट दिने प्रवृत्तिका कारण काङ्ग्रेसले हारेको उनको भनाइ थियो । 
 
क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनलगायतले आफ्नो जिम्मेवारीअनुसार काम गरे मात्र कांग्रेस बलियो हुने बताएका थिए ।