बैतडी । स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।
लामालेक–ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए ।
स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, जेसिबी पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो ।
आज बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको जेसिबी खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने ठाउँमा पल्टिदा त्यसका चालक बुढाको हात खुट्टा मात्र बाहिर देखिएको र अन्य भाग त्यसकै टायरले कुल्चिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।
अर्को डोजर लगेर बुढाको शव निकालिएको र शव परीक्षणका लागि रुकुमकोट जिल्ला अस्पतालमा लगिएको उनले जानकारी गराए ।
मृतकको पहिचान खुल्यो
महाकाली राजमार्गमा भएको ट्रक दुर्घटनामा परी मृत्यु भएका नागरिकको पहिचान खुलेको छ । मृत्यु हुनेमा ट्रकका चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । ट्रकमा चालकमात्रै रहेको बुझिएको छ ।
धनगढीबाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से१ख १९२३ नंको मिनीट्रक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान दुर्घटनामा परेको थियो । ट्रक सडकबाट २०० मिटर तल खसेको छ । चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया