मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले बाह्य लगानी जुटाउने वातावरण बनाउनुपर्छ : नेता नेपाल

सरकारले बाह्य लगानी जुटाउने वातावरण बनाउनुपर्छ : नेता नेपाल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन् ।
 
सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपाली संघ’को भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमा राजनीतिक स्थिरिता कायम रहेकाले बाह्य लगानी जुटाउनुपर्ने बताए । 
 
उनले गैरआवासीय नेपालीलाई मात्र नभइ विदेशीहरु लगानी गर्न इच्छुक रहेकाले त्यसको लागि लागि पूर्वाधार बनाउनुपर्ने बताए । 
 
“नेपालमा घुम्नका लागि होस्, लगानी गर्नका लागि होस् नेपाल उत्तम गन्तव्यस्थल बनाउनुपर्छ । यसका लागि हामीले सबै न्यूनतम पूर्वाधार तयार गर्नुपर्छ, अनुकूल वातावरण सिर्जना गर्न सक्नुपर्दछ”, उनले भने । 
 
नेता नेपालले विकसित मुलुकले एक÷दुई सय वर्षसम्मको कुरालाई ध्यानमा राखेर बाटोको निर्माण गरेको उल्लेख गर्दै हाम्रोमा बाटो निर्माण संकुचित प्रवृत्तिको रहेको बताए । संघलाई स्वदेशमा समृद्धिको अभियानमा सघाउनसमेत उनले आग्रह गरे । 
 
कार्यक्रममा एनआरएन दक्षिण कोरियाका डा देवीबहादुर बस्नेतले नेपालले अहिले स्थायी सरकार भएकाले बाह्य लगानी भित्र्याउन पूर्वाधार र अन्य वातावरण बनाउनुपर्ने बताए ।
 
एनआरएन अष्ट्रेलियाका देवबहादुर गुरुङ्ले नेपाल र नेपाली माझ आफूहरु जहाँ रहे पनि सेवा गर्न तत्पर रहेको बताए ।