मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोर्खा ब्रुअरी कर विवादमा क्षेत्राधिकार मिचेर आदेश गर्ने न्यायाधीश बर्खास्त

गोर्खा ब्रुअरी कर विवादमा क्षेत्राधिकार मिचेर आदेश गर्ने न्यायाधीश बर्खास्त


काठमाडौँ । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । 
 
परिषद्को आज बसेको बैठकले गोरखा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । 
 
परिषद्को अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले क्षेत्राधिकार बाहिरको मुद्दामा अन्तरिम आदेश दिएको भन्दै उच्च अदालत पोखराका न्यायाधीश त्रय जीवनहरि अधिकारी, रामचन्द्र यादव र शाहीमाथि छानविन गर्न परिषद्लाई निर्देशन दिएका थिए । परिषद्ले गत १३ साउनमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो । 
 
उनीहरुले निजी कम्पनीको अन्तःशुल्क विवाद मुद्दामा अन्तरिम आदेश दिँदा क्षेत्राधिकारबाहिर गएको भन्दै प्रधानन्यायाधीश जवराले परिषद्लाई छानविन गर्न अन्तरिम आदेश दिएका थिए । अनुसन्धानकै क्रममा न्यायाधीशद्वय अधिकारी र यादवले ‘तारेख खेपीरहन नसक्ने’ भन्दै प्रधानन्यायाधीश जवरालाई राजीनामा बुझाएका थिए । 
 
दुवैजनाको राजीनामा स्वीकृत भएसँगै परिषद्को बैठकले उनीहरुको उजुरी तामेलीमा राखेको थियो । त्यस्तै न्यायाधीश शाहीलाई भने परिषद्ले लिखित स्पष्टिकरण मागेको थियो । उनको लिखित स्पष्टिकरणपछि बसेको परिषद् बैठकले बर्खास्ती गर्ने निर्णय गरेको हो । 
 
बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल साढे ३३ किलो सुनकाण्ड विवादमा परिषदमा काजमा तानिएपछि विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।