मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जहाज ढिला भएको भन्दै बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद पक्राउ

जहाज ढिला भएको भन्दै बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद पक्राउ


काठमाडौँ । जनकपुर विमानस्थलभित्र रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । 
 
प्रहरी अपराध महाशाखा काठमाडौँको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक)बाट आज पक्राउ गरेको हो । 
 
उनलाई पक्राउ गर्न आजै महोत्तरी जिल्ला अदालतले अनुमति दिएको थियो ।  जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले साहलाई पक्राउ गर्न अनुमति दिएको थियो । 
 
सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए । समयमा जहाज नआएको भन्दै सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेको बताइएको छ । 
 
सोमबार बिहान ११ः४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनी आवेशमा आएका थिए । व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दुःख पाएको भन्दै उनी बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेका थिए । 
 
अढाइ बजे बुद्ध एयरको जहाज विमानस्थलमा आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन् । तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौँ उडाएका थिए ।
 
घटनापछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको थियो ।