मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा उपनिर्वाचन : कांग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस

चितवनमा उपनिर्वाचन : कांग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस


भरतपुर । नेपाली कांग्रेस चितवनले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।
 
कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् । यस्तै सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उम्मेदवारका लागि सिफारिस बस्नेत स्वर्गीय वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । यी दुवै नामलाई कांग्रेस वडा समितिले सर्वसम्मतरूपमा जिल्लामा सिफारिस गरेको छ ।   
 
यी दुवै वडामा कांग्रेसले विजयी हासिल गरेको थियो । केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्किने क्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परी वडा नं ४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।
 
यस्तै, कांग्रेसले भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि पनि उम्मेदवार तय गरेको छ । कांग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ । केही महिनाअघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 
 
स्वर्गीय गुरुङ तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले कांग्रेसका उम्मेदवार अमृत हमाललाई पराजित गरेका थिए । अहिले कांग्रेसले पुनः हमाललाई नै उम्मेदवारका लागि सिफारिस गरेको हो ।
 
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उपनिर्वाचनका लागि तीनवटै वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवारको नाम सिफारिस गरेकोले सोही नामहरु अनुमोदन हुने बताए । उनले भने, “वडाबाटै सर्वसम्मत नाम आएपछि विवादको विषय नै नरहने, सिफारिस व्यक्तिलाई नै कांग्रेसले उम्मेदवार बनाउँछ ।” 
 
सभापति श्रेष्ठले निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार नै कांग्रेसले उम्मेदवारको नामावली औपचारिकरूपमा घोषणा गरिने बताए ।
 
जिल्ला सभापति श्रेष्ठले खैरहनीको दुवै वडामा यसअघि कांग्रेसले जीत हासिल गरेकाले त्यहाँ पुनः जीत निश्चितजस्तै रहेको दाबी गरे । उनले कांग्रेसको मुख्य ध्यान भरतपुर–१६ मा केन्द्रित रहेको बताए । उनले भने, “खैरहनीमा हाम्रो जीत निश्चितजस्तै हो, भरतपुर–१६ मा जीत हासिल गर्ने गरी तयारी गरिरहेका छौँ ।” निर्वाचन आयोगले करिब २ वर्षपछि उपनिर्वाचनको तयारी गरेको हो ।