मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चिनियाँ राष्ट्रपतिको सम्मानमा सांंस्कृतिक झाँकी प्रदर्शन

चिनियाँ राष्ट्रपतिको सम्मानमा सांंस्कृतिक झाँकी प्रदर्शन


काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागत तथा सम्मानमा नेपालका विभिन्न जातजाति तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् ।  राष्ट्रपति सीको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष, सिनामङ्गल, तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोडलगायत स्थानमा झाँकी प्रदर्शन गरिएको संयोजक सांस्कृतिक संस्थानको संस्थानका सूचना अधिकारी पवित्रा पँगेनीले जानकारी दिए । 
 
यसैगरी राष्ट्रपति सीको सम्मानमा होटल सोल्टीमा विशेष सांस्कतिक प्रस्तुति तथा नेपाली र चिनियाँ नृत्य प्रस्तुत  गरिने संस्थानका सङ्गीत प्रबन्धक खर्कबहादुर मगरले जानकारी दिए । उक्त सांस्कृतिक प्रस्तुतिमा २५ कलाकारको सहभागिता रहने छ ।  
 
नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।  
 
विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको थियो । विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका सर्वसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।   
 
विशेषगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिको आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिँगारिएको  थियो । 
 
विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।  राष्ट्रपति  भण्डारी र उनका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ ।  
 
चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गर्दै छन् । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो ।