काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका लागि विभिन्न स्थानमा सरसफाइ र स्वागतद्वार  निर्माणको काम सम्पन्न गरेको छ । 
	कामपा उपप्रमुख हरिप्रभा खड्गीले २३ वर्षपछि चीनका राष्ट्राध्यक्षबाट हुन लागेको नेपाल भ्रमणका लागि कामपाले आफूले गर्ने सबै तयारी पूरा गरेको स्पष्ट गरिन् ।
	कामपाले  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अगाडि र त्रिपुरेश्वरमा स्वागतद्वार निर्माणको काम सकेको छ ।  
	विशिष्ट पाहुनाको स्वागतका लागि कामपा कर्मचारी स्वागतका लागि आआफ्ना वडा कार्यालयको नजिक रहने जनाइएको छ । 
	हरेक दिन रातको समयमा मात्रै सडकको सफाइ गर्दै आएको कामपाले राष्ट्रपति सीको भ्रमणका समयमा सडक सफा राख्नका लागि अपराह्न पनि ब्रुमर प्रयोग गरेको  थियो । 
	तीनकुनेमा हरियालीसहित सजावटको काम पनि कामपाले नै गरेको उपप्रमुख खड्गीले जानकारी दिइन् । 
	बडादशैँका समयमा फोहर व्यवस्थापन गर्न समस्या हुने भए पनि कामपाले पहिलो पटक दशैँका समयमा पनि नियमित रुपमा फोहर नुवाकोटको सिसडोल पु¥याएको छ ।  भूकम्पपछिको सम्पदाको पुनःनिर्माणमा चीनको उत्तिकै योगदान रहेको छ । 
	रानीपोखरी नजीकको दरबार हाइस्कूल, वसन्तपुरको नौतले दरबार तथा नुवाकोटको साततले दरबार र तलेजु भवानीको मन्दिर चिनियाँ सहयोगमा पुनःनिर्माण भइरहेको उपप्रमुख खड्गीले जानकारी दिइन् ।  
	नेपाल सरकार, नेपाली जनता र सिङ्गो मुलुक चिनियाँ राष्ट्रपतिको भ्रमणकोे भव्य स्वागतको तयारीमा जुटेको बताउँदै खड्गीले उनको दुईदिने राजकीय भ्रमण पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गरिन् । 
	राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी नेपालको दुईदिवसीय राजकीय भ्रमणका लागि अपरान्ह ४:३० मा काठमाडौँ आउँदै छन् । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।
             
 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया