मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अन्तर्राष्ट्रिय विमानस्थल पाँच घन्टा अवरुद्ध हुने

अन्तर्राष्ट्रिय विमानस्थल पाँच घन्टा अवरुद्ध हुने


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करिब पाँच घन्टा अवरुद्ध हुने भएको छ ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज एक नोटम (नोटिस टु एयरमेन) जारी गर्दै राष्ट्रपति सीको आगमन र बिदाइको समयमा विमानस्थल प्रभावित हुने जनाएको हो ।
 
विमानस्थलका अनुसार आज साढे दुई घन्टा र आइतबार साढे दुई घन्टा गरी जम्मा पाँच घण्टा विमानस्थलको उडान प्रभावित हुनेछ । 
 
शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको छ । सो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडान प्रभावित हुनेछन् ।
 
अन्तरराष्ट्रिय उडानका लागि पार्किङ सीमितताका कारणसमेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको विमानस्थलले जनाएको छ । प्रभावित उडानको व्यवस्थापनका लागि उक्त उडानका दिनमा विमानस्थल २४सै घन्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । 
 
संशोधित उडान तालिका र चेकइन समयको जानकारी सम्बन्धित वायुसेवा कम्पनीबाट प्राप्त गर्न सकिनेछ । साथै संशोधिन अन्तर्राष्ट्रिय उडान तालिका विमानस्थल कार्यालयको वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।