मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिन्धुपाल्चोक बस दुर्घटना : कम्तीमा १२ को मृत्यु (अपडेट)

सिन्धुपाल्चोक बस दुर्घटना : कम्तीमा १२ को मृत्यु (अपडेट)


मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरेचोक नजिक खोँचमा एक सवारी साधन दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । 
 
सोही  गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
पचासभन्दा बढी घाइते भएको स्थानीयवासी राजेन्द्र आचार्यले बताए ।
 
सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी  नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 
 
दुर्घटनाको स्थिति हेर्दा  थप क्षति हुनसक्ने देखिन्छ । दुर्घटनामा परेका प्रायः सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ थियो ।
 
छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ । 
 
पाँच जनाको सनाखत
 
प्रदेश नं ३का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुगेका छन् । 
 
हेलिकप्टर लिएर घटनास्थल आइपुगेका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनुका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए । 
 
उक्त दुर्घटनामा मृत्यु भएका १२ मध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।