मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी निरीक्षक ओझामाथि चोरीको आरोप

प्रहरी निरीक्षक ओझामाथि चोरीको आरोप


धनुषा । धनुषामा एक प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । 
 
धनुषाको मिथिला नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि स्काभेटरको पार्टपुर्जा चोरी गरेको आरोप लागेको हो । 
 
जङ्गलको जग्गामा पोखरी खनेर क्षति पु¥याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाभित्र स्थानबाट स्काभेटर नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको थियो । 
 
केही दिनपछि स्काभेटर धनी जनुलाल महतो इलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा स्काभेटरको पार्टपुर्जा निकालिएको पाएका थिए । 
 
स्काभेटर धनी महतोले बालुवा वासिङ उद्योगीसँग मिलेर प्रहरीले रु छ लाख मूल्य बराबरको पार्टपुर्जा बिक्री गरेको दाबी गर्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी प्राप्त भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको छ । 
 
घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक उमाशङ्कर पंजियारको संयोकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले बिहीबार घटनाको अनुसन्धान प्रतिवेदन प्रदेश प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीलाई बुझाइसकेको बताइएको छ । 
 
पाटपुर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उनलाई विभागीय कारबाही गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
 
प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारबाही हुने प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । उनले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भएको भन्दै दोषी देखिए कारबाही गर्न कुनै कन्जुस्याइँ नहुने स्पष्ट पारे ।