मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्र शान्तिका लागि छातीमा जमरा राखेर निराहार व्रत

राष्ट्र शान्तिका लागि छातीमा जमरा राखेर निराहार व्रत


चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ ।
 
सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहेकी छन् । 
 
मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा झूल लगाइएको छ । झूलभित्र वडा नं ९ शरदपुरकी ४० वर्षीया विष्णुमाया ढकाल दशैँको नवरात्रि शुरु भएदेखि नै यसरी बसिरहेकी छन् ।
 
उनलाई कुर्न र रेखदेख गर्नका लागि श्रीमान् कृष्ण ढकाल बसिरहेका छन् । 
 
यही असोज १२ गते घटस्थापनाका दिनदेखि उनी सो मन्दिरमा आएर निराहार देवीको व्रत बसेकी हुन् । श्रीमान् कृष्णका अनुसार हिन्दू धर्मको रक्षा र राष्ट्र शान्तिका लागि उनी यसरी निराहार व्रत बसेकी हुन् ।
 
यसबाट दैवी शक्ति प्राप्त हुने उनको विश्वास छ । पहिलादेखि नै धर्ममा विश्वास गर्ने विष्णुमायाले विगत केही वर्षयता हस्तरेखाबाट भविष्य बताउँदै आएको उनका श्रीमान् कृष्णले जानकारी दिए । 
 
सोही कार्यका सिलसिलामा विगत पाँच वर्षदेखि उनमा निराहार व्रत बसेर आफ्नो हात र छातीमा उमारेका जमरा नवमीका दिन देवी मन्दिरमा चढाउने इच्छा थियो । सोही इच्छाअनुसार यस वर्ष उनले निराहार व्रत बसेको कृष्णले जानकारी दिए ।
 
यसरी उमारिएको जमरालाई नवमीका दिनमा दुर्गा मन्दिरमा चढाउने, दशमीका दिनमा लाख बत्ती बालेर व्रत तोड्ने कार्यक्रम छ ।   
 
आफ्नो घर चलाउनका लागि सामान्य माछापालन गर्ने उक्त परिवारले धर्मप्रति निकै आस्था राख्दै आएको छ । सो व्रत बस्नुभन्दा दुई दिनदेखि विष्णुले केही नखाई बसेको श्रीमान् कृष्णले बताए ।
 
लामो समयसम्म निराहार व्रत बस्दा पनि विष्णुको शरीरमा खासै समस्या नदेखिएको उनले बताए । घटस्थापनाका दिन उनको हात र छातीमा जौ र मकैको जमरा राखिएको हो ।