नेपाल

महरा प्रकरणको खुलासा गर्ने पत्रकारमाथि सुरक्षा थ्रेट, प्रहरीको निगरानी

महरा प्रकरणको खुलासा गर्ने पत्रकारमाथि सुरक्षा थ्रेट, प्रहरीको निगरानी


काठमाडौँ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि सो प्रकरणबारे सुरुमा समाचार ब्रेक गर्ने हाम्रा कुरा अनलाइनका प्रधानसम्पादक अजयबाबु सिवाकोटीमाथि सुरक्षा थ्रेट बढेको छ । 

बिहीबार बिहान सिवाकोटीले आफू र आफ्नी श्रीमतीलाई विभिन्न अपरिचित नम्बरबाट निरन्तर फोन आइरहेको, राजधानीका दुई रेस्टुरेन्टमा बसेर केही व्यक्तिहरूले आफूविरूद्ध आक्रमण गर्ने योजना बनाएको सूचना थाहा पाएको बताएपछि प्रहरीले उनको सुरक्षालाई मध्यनजर राखेर निगरानी गरेको छ । 
 
काठमाडौँ प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार सिवाकोटीले सुरक्षा थ्रेटबारे उजुरी गरेका भने होइनन् । उनले ब्रेक गरेको मुद्दा चर्चामा रहेका कारण उनीमाथि हुनसक्ने सम्भाव्य आक्रमण र असुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले निगरानी बढाएको हो । पत्रकार सिवाकोटीमाथि सुरक्षाकर्मी नै नखटाइए पनि बुधबार प्रहरी अधिकारी आफैँले फोन गरेर निगरानी गरिरहेको बताएका थिए । 
 
सिवाकोटीले सोमबार रोशनी शाहीले महरालाई लगाएको यौन दुर्व्यवहारको आरोपबारे भिडियोसहितको तथ्यगत रिपोर्ट हाम्रा कुरा डटकममा प्रकाशित गरेपछि सो प्रकरण सार्वजनिक भएको थियो । त्यही सनसनीपूर्ण खुलासापश्चात् नेकपाको संचिवालय बैठकको निर्णयअनुसार महरालाई सभामुख र सांसदबाट राजीनामा गर्न लगाइएको थियो ।
 
पार्टीको दबाबका कारण महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उनले सांसदबाट भने राजीनामा दिन आनाकानी गरिरहेका छन् । उनको राजीनामा संसद सचिवालयका सूचनापाटीमा टाँस भइसकेको छ भने संसदको वेबसाइटबाट सभामुखको फोटो लिंक हटाइएको छ । 
 
केही अपरिचित व्यक्तिबाट रेस्टुरेन्टमा बसेर आफूबारे आक्रमण गर्ने योजना बनेको सूचना पाएपछि सिवाकोटीले प्रहरीलाई मौखिक जानकारी गराएको बताएका छन् । 
 
आइतबारको सनसनीपूर्ण भिडियो रिपोर्ट सार्वजनिक गरेपछि मंगलबार भने रोशनीले सिवाकोटीले भन्दै नभनेको कुरा छापेको भनेर बोली फेर्दै अर्को मिडियासँग भिडियो अन्तर्वार्ता दिएकी थिइन् । उनको यस्तो रवैयाका कारण महरामाथि प्रहरीले छानबिन अगाडि बढाउन सकेको छैन । 
 
सुरक्षा थ्रेटप्रति ध्यानाकर्षण
 
यसैबीच, अनलाइन पत्रकार संघले तत्कालीन सभामुख कृष्णबहादुर महराको समाचारको विषयलाई लिएर हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई आएको सुरक्षा थ्रेटप्रति ध्यानाकर्षण जनाएको छ ।
 
संघका अध्यक्ष शिवप्रसाद सत्यालले एक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारप्रति गुनासो वा असहमति भए त्यसउपर वैधानिक बाटो रोज्ने विकल्प हुँदाहुँदै गुण्डाराज शैलीमा सुरक्षा थ्रेट दिनु अशोभनीय कार्य र आफैँमा निन्दनीय रहेको बताएका छन् ।
 
संघको विज्ञप्तिमा भनिएको छ– ‘समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । यस्ता कार्यको अनलाइन पत्रकार संघ कडारुपमा निन्दा गर्दछ । यस विषयमा तत्काल कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग अनलाइन पत्रकार संघ जोडदार माग गर्दछौँ ।’

Advertisement