मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ उपत्यकाबाट १२ लाख यात्रु बाहिरिए

काठमाडौँ उपत्यकाबाट १२ लाख यात्रु बाहिरिए


काठमाडौँ । दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । 
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् ।  त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् । 
 
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रुहरु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिए । 
 
उनका अनुसार एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ । 
 
अहिलेसम्म दशैंका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ् गरेको प्रमुख ढकालले जानकारी दिए ।  प्रहरीले यही असोज पहिलो सातादेखि चाडवाड केन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो । सोही योजना अनुसार राजधानीमा तीन सय बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ । 
 
विभिन्न क्षेत्रमा मापसे विरुद्ध कडाईका साथ जाँच भैरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताए । राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रहरुमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ । नागढुङ्गा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाईएको पौडेलले बताए ।
 
उनले चाडवाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेहरुको निगरानी र कारवाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी दिए । 
 
अभियानका कारण महाशाखाले  लामो दूरीका सवारीमा अनिवार्य दुई चालक नराखेका १५ र ‘ओभरलोड’ बोक्ने ४० सवारीलाई कारवाही गरिएको छ । यो बीचमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ८४८ सवारीलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।