मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कानुनविद्हरु भन्छन्– ‘महरा र पीडित दुवैको अनुसन्धान हुनुपर्छ’

कानुनविद्हरु भन्छन्– ‘महरा र पीडित दुवैको अनुसन्धान हुनुपर्छ’


काठमाडौँ । कानुन व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसदको पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिएका छन् । 
 
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचनमात्रै अन्तिम विकल्प भएको उल्लेख गरेका छन् । 
 
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले संसदमा घटेको अनौठो घटनाप्रति आश्चर्य प्रकट गर्दै अब सभामुखको राजीनामापछि संविधान, कानुन तथा संसदीय नियमावलीअनुसार नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्ने बताउँछन् ।
 
उनले पीडितले मौखिक सूचना दिइसकेकाले महरामाथि फौजदारी कार्यविधि संहिता आकर्षित हुने प्रस्ट पारेका छन् । 
 
संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले पीडितको सूचनाका आधारमा महरामाथि अनुसन्धान सुरु गर्नुपर्ने र निर्दोष ठहरिए पुनः सांसद् हुने नाताले नयाँ सभामुखको निर्वाचनमा उम्मेदवार बन्न पाउने बताए ।
 
उनले अनुसन्धानका क्रममा प्रमाण नपुगेको अवस्थामा प्रहरीले त्यो मुद्दालाई तामेलमा राख्न सक्ने अथवा महान्यायाधिवक्ताले मुद्दा चल्न नसक्ने भनी निर्णय गर्नसक्ने बताए ।
 
ज्ञवालीले पीडितले जाहेरी नदिए पनि अनुसन्धान प्रक्रिया नरोकिने बताउँदै बलात्कार भएको पुष्टि भए १५ वर्ष, सामान्य भए तीन वर्ष तथा कुटपिट गरेको ठहरिए एक वर्ष कैद सजाय हुने व्यवस्था रहेको जानकारी दिए ।
 
नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले महराका साथै पीडितको पक्षमा पनि अनुसन्धान गर्नुपर्ने बताए । पीडित महिलाले महराको चरित्र हत्या गर्ने मनसायले त्यस्तो अभिव्यक्ति दिएको हो भने ती महिलामाथि पनि अनुसन्धान गरी साइबर क्राइमको मुद्दा चलाउन सकिने उनले बताए । 
 
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका महासचिव लक्ष्मी दाहालले अब सभामुखको नयाँ निर्वाचन हुनुपर्ने तथा महरा र पीडितको पक्षमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए ।