मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘ज्ञानेन्द्र शाहीमाथिको दमन लोकतन्त्रमाथिकै आक्रमण’

‘ज्ञानेन्द्र शाहीमाथिको दमन लोकतन्त्रमाथिकै आक्रमण’


चितवन । नेपाली कांग्रेस चितवनले नेपालीका लागि नागरिक अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि सत्तारुढ दलकै भातृ संगठनबाट भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनताको त्याग, तपस्या र बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भई संवैधानिक सर्वोच्चता, कानुनी राज्य र मौलिक हकको पूर्ण व्यवस्था रहेको अवस्थामा अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक कुण्ठित हुने गरी निहत्था ज्ञानेन्द्र शाहीमाथि सांघातिक आक्रमण हुनु लोकतन्त्रमाथिकै आक्रमण भनिएको छ । 
 
भरतपुर, चौबीसकोठीमा शान्तिपूर्णरुपले नागरिकको सभा, सम्मेलन र जुलुसमार्फत आफ्नो असहमति र मागहरु राख्न पाइने अधिकार कुण्ठित गरी नागरिकका आवाजलाई हिंसात्मक ढंगबाट सत्ता र शक्तिको आडमा दमन गर्ने कार्यको कांग्रेसले आपत्ति जनाएको हो । 
 
कांग्रेसले यस्ता अराजक गतिविधिहरु तत्काल बन्द गरी उक्त घटनामा संलग्न दोषीहरुलाई तत्काल कानुनी कारबाही गर्न जोडदाररुपमा माग गरेको छ । 
 
यस्तै, साझा पार्टी चितवनका संयोजक भुपेन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै सत्ताधारी दलका कार्यकर्ताको शक्तिको दम्भका आडमा नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिटको घटनाको भत्र्सना गरेका छन् । 
 
साझा पार्टीले उक्त कार्यलाई निन्दनीय भन्दै कुनै पनि नागरिकले संविधानप्रदत्त हक प्रयोग गर्न पाउनु उसको नैसर्गिक अधिकार भएको र सार्वजनिकरुपमा आफ्ना दृष्टिकोणहरू राख्न पाउने संवैधानिक अधिकारमाथि धावा बोल्ने, डरधम्की देखाउने कार्यले लोकतन्त्रको धज्जी उडाएको ठहर गरेको छ । 
 
विज्ञप्तिमा नागरिक स्वतन्त्रता र सुरक्षा सरकारको प्राथमिक दायित्व भएकाले कसैको गतिविधि गैरकानुनी छ भने राज्यका निकायले विधिसम्मत तबरले कारबाही गर्नुपर्ने तर फरक विचारकै कारणले सत्ताको आडमा गरिएको निषेधात्मक उर्दी र कुटपिट बेलैमा नियन्त्रण गर्न सरकारलाई सचेत गराइएको छ । 
 
चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न जोडदाररुपमा आग्रह गरिएको छ । 
 
यसैबीच, शनिबार भरतपुरमा नेकपाका कार्यकर्ताले नियोजितरुपमा शाहीमाथि आक्रमण गरेको विषयमा नागरिक समाज, अभियन्ता, बुद्धिजीवी, मानवअधिकारवादीलगायतले घोर भत्र्सना गर्दै भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्दै हिँड्ने अभियन्ताको स्वर दबाउन गरिएको हर्कतले निकृष्टताका पराकाष्ठा भएको भन्दै सामाजिक सञ्जालहरुमा सरकार र सत्तारुढ दलका भातृसंगठनप्रति खेद व्यक्त गरिएको छ ।