मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

त्रिभुवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु

त्रिभुवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु


धादिङ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । 
 
रौतहटबाट काठमाडौँ आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए । 
 
दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौँ ल्याइँदै थियो । 
 
लामो जाममा १२ घन्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेँसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताए । एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो ।  शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताए ।  
 
आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहको उनको काखमै मृत्यु भएको हो । सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् ।