मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आफ्नै श्रीमतीको हत्या गरी फरार दुईसहित पाँच पक्राउ

आफ्नै श्रीमतीको हत्या गरी फरार दुईसहित पाँच पक्राउ


सिरहा । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका दुई जनासहित विभिन्न मुद्दामा फरार रहेका पाँच जनालाई आज एकै दिन सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार दुई र डाका मुद्दामा फरार तीन गरी पाँच जनालाई पक्राउ गरी प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 
 
आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले सिरहाको सुखिपुर नगरपालिका–७ घर भई हाल गोलबजार नगरपालिका–६ मा डेरा गरी बस्ने २३ वर्षीय मन्जु रायको श्रीमान् राजेश पासवान भन्ने मो।इलियास मियाँलाई पक्राउ गरिएको हो । इलाका प्रहरी गोलबजारबाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए ।
 
त्यस्तै आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल कर्जन्हा नगरपालिका–२ मा बस्ने थारु भन्ने अक्षयकुमार यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
 
विसं २०७० कात्तिक ९ गते कर्जन्हा नगरपालिका–४ भेडवा खोलामा २५ वर्षीया गीतादेवी यादवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका अक्षयलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
 
त्यस्तै सिरहाको मिर्चैया नगरपालिका–६ स्थित अनिल साहको लोटस कलरल्याब तथा मोबाइल पसलको ढोका फुटाएर नगद रु एक लाख २२ हजार, ल्यापटप एक थान, क्यामरा एक थान, भिभो कम्पनीको छ थान मोबाइललगायत सामान लुटपाट गरी फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिका–२ घर भई हाल सिरहाको मिर्चैया नगरपालिका–५ निवासी २१ वर्षीय कैलाश मगर, सुखीपुर नगरपालिका–१ निवासी २२ वर्षीय अरविन्द चौधरी र मिर्चैया नगरपालिका–५ निवासी २० वर्षीय  फेन्टा भन्ने धिरज यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । 
 
पक्राउ परेका तीनै जनामाथि डाँका मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थपका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।