मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

म हलो जोतेर आएको हुँ : प्रधानमन्त्री

म हलो जोतेर आएको हुँ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफ्नो युवा उमेरको स्मरण गर्दै आफू हलो जोतेर, खेती गरेर आएको बताएका छन् । आफूलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा भएको बताउँदै भने, “सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।”
 
आफ्नो गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमिनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उनले मेहनत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने भएकाले संगठनको कामका साथै उत्पादन क्षेत्रको पनि नेता र अगुवा बन्न आग्रह गरे । 
 
प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई धोबीघाटमा सम्बोधन गर्दै कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे जानकारी दिए । 
 
नेपालको कूल क्षेत्रफलको २८ प्रतिशत भूमि (करिब ४१ लाख २१ हजार हेक्टर) कृषिभूमि रहेकामा सिँचाइको असुविधाका कारण हाल २६ लाख ४१ हजारमा मात्र खेती गरिएको छ । “हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमिनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ ।” 
 
उनले थपे, “सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणसहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ । कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।”
 
प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुंगिएकाले पार्टीले गति लिने जानकारी दिए । 
 
ओलीले कम्युनिस्टहरू झगडा गर्न र फुट्नमात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरूले एकता गरी सामान्यतः बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे । 
 
उनले भने, “विश्वमै नयाँ ढंगको एकताबद्ध र अनुशासित कम्युनिस्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकारमा जान सक्छ र राष्ट्रिय हितमा काम गर्न सक्छ भन्ने स्थापित भएको छ । अब कोही गरिब र कोही धनी भइरहने अवस्थाको अन्त्य गरी न्याय र समतामूलक मानवजातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिंगै समाजलाई उठाउन हामी लागेका छौँ ।”
 
देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाइ गर्न महासंघका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे ।