मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस पार्टीको नीतिअनुसार चल्नुपर्छ : उपसभापति निधि

कांग्रेस पार्टीको नीतिअनुसार चल्नुपर्छ : उपसभापति निधि


धनगढी । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले व्यक्तिको पछि नलागेर पार्टीको नीति, विचार र सिद्धान्तमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 
 
नेपाली कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन आज यहाँ आयोजित सभामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति निधिले पार्टीको नीति अनुसारको व्यवहार र आचरण देखाउन सकेमा पार्टीभित्र देखिने गुटबन्दीको अन्त्य हुने दाबी गरे ।
 
उनले पार्टीको जागरण अभियानलाई आफ्नो गाउँ ठाउँमा आगामी दिनमा पनि चलाउन निर्देशन दिए । जनताका अधिकारका लागि देशमा भएका हरेक राजनीतिक आन्दोलन काङ्ग्रेसको नेतृत्वमा सफल भएको उल्लेख गर्दै उनले जनअधिकार, विकास र समृद्धिका लागि पार्टी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
 
संविधानको भावनाविपरीत सरकारले प्रदेश र स्थानीय तहका अधिकार सिंहदरबारमा सीमित राखेको आरोप लगाउँदै उनले भने, “सङ्घीय प्रणालीको राज्य व्यवस्था छ, तर अहिलेको सरकार यो व्यवस्थामा विश्वास गर्दैन ।” 
 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त पहलमा भएको प्रशिक्षणतर्फ लक्षित गर्दै निधिले संविधान सिध्याउने जनशक्ति तयार गर्न एकदलीय व्यवस्था भएको देशसँग मिलेर प्रशिक्षण गरिएको आरोप लगाए । 
 
कार्यक्रममा उसभापति निधिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै पार्टीको सदस्यता वितरण गरेका थिए । यसअघि स्थानीय ट्राफिक चोकबाट विभिन्न नाराका साथ शुरु भएको विरोध ¥याली पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो ।  
 
यसैगरी , कांग्रेसका सचेतक पुष्पा भुसालले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यताबाट भड्किँदै गएको बताएकी छन् । बाँके कांग्रेसले आज नेपालगञ्जमा गरेको जनजागरण अभियान समापनका अवसरमा उनले मुलुकको लोकतान्त्रिक पद्धतिमाथि कहीँ कतैबाट आक्रमण हुन्छ भने काङ्ग्रेसका कार्यकर्ताले ज्यानको आहुति दिएर पनि त्यसलाई जोगाउने छन् भनिन् । 
 
बाँके कांग्रेसका सभापति किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा पूर्वजिल्ला सभापति युवराज शर्मा, विद्यार्थी नेता पूर्ण आचार्य, तरुण दलका पूर्वकेन्द्रीय सदस्य सुदीप नरसिंह राणालगायतले बोलेका थिए ।