मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले संविधानको भावनाविपरीत विधेयक ल्यायो : नेता श्रेष्ठ

सरकारले संविधानको भावनाविपरीत विधेयक ल्यायो : नेता श्रेष्ठ


काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सरकारले संविधानको भावना र मर्मविपरीत विधेयक ल्याएको बताएका छन् । 
 
कांग्रेस काठमाडौँको आयोजनामा पार्टीले सुरु गरेको हिमाल, पहाड, तराई–मधेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन तथा ‘विरोधसभा’मा उनले गुठी विधेयक, मानव अधिकार विधेयक, आमसञ्चार विधेयकलगायत संविधानको भावना र मर्ममा ल्याइएको बताए । 
 
“सरकार जनताको भावनालाई सम्बोधन गर्नेभन्दा पनि विवाद सिर्जना गर्ने काममा लागिरहेको छ”, उनले भने । सरकारले ३३ किलो सुनकाण्ड, वाइडबडी काण्ड, बालुवाटार काण्ड, निर्मला काण्डका दोषीलाई कारबाही गर्न नसकेको उनको भनाइ थियो । 
 
पूर्वउपप्रधानमन्त्री श्रेष्ठले सरकारको ज्यादती र अन्यायका विरुद्ध नेपाली कांग्रेसले सडकदेखि सदनसम्म आन्दोलन गर्ने बताए । 
 
कांग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले कानूनविपरीत गतिविधिमा वर्तमान सरकार लागेको बताए । “ कांग्रेस नेतृत्वको सरकारको पालामा जारी भएको संविधान जोगाउनका लागि आन्दोलन गर्नुपरेको हो”, उनले भने । 
 
कांग्रेस काठमाडौँका पूर्वसभापति एवं सांसद भीमसेनदास प्रधानले जनतालाई भ्रम सिर्जना गरेर सरकारमा पुगेका कम्युनिस्टले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप लगाए । 
 
पार्टीले जागरण अभियान सञ्चालन गर्दा कार्यकर्ताभन्दा पनि नेताहरूमा चलाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो । 
 
काठमाडौँ कांग्रेसका सभापति सबुज बानियाले संविधानको उपलब्धिलाई संस्थागत गर्न आन्दोलन गरिएको बताए । जागरण अभियानसँगै पार्टीलाई ऊर्जा मिलेको उनको भनाइ थियो । 
 
प्रदेशसभा सदस्य राधा घलेले वर्तमान सरकारले गरेका कामकारवाही हेर्दा सरकारविरुद्ध उत्रनुपर्ने बेला आएको उल्लेख गरिन् ।