मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिम्ल्याहा शिशु जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार

तिम्ल्याहा शिशु जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार


दार्चुलामा पहिलोपटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्यचौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
 
वर्षायाममा जीपसमेत नचल्ने विकट बस्तीबाट सरकारले पहिलो पटक एयर एम्बुलेन्स हेलिकप्टरमार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गरेको हो । आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरूलाई आईसीयूमार्फत थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । 
 
उनीहरूको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार हुने बताइएको छ । तेस्रो सन्तानको रूपमा गर्भवती बनेकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले जानकारी दिइन् । कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महिनाअघि नै तीन बच्चा जन्माएकी हुन् । यसअघि धामीका छ वर्ष र तीन वर्षका छोरी छन् ।
 
दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेशिन नहुँदा थप उपचारका लागि रिफर गरिएको ठगुन्नाले बताइन् । धामीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो । 
 
सोमबार नै एयर एम्बुलेन्समार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भए पनि कागजी प्रक्रियामा ढिलाइ हुँदा आज बिहान मात्र उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए । “गाउँपालिकाले सोमबार ढिलोगरी जानकारी गरायो”, उनले भने, कागजी प्रक्रिया मिलाउँदा आज बिहान मात्र स्वीकृत भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।”
 
सरकारले समयमै महिला र नवजात शिशुको उद्धार गरेपछि सामाजिक प्रयोगकर्ताहरूले सरकारको प्रशंसा गरेका छन् ।