हिमालयखबर संबाददाता-
काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले अमेरिकामा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सार्वजनिक गरेको तिथि अनुसार दशै लगायत पर्वहरु मनाउनुपर्ने धारणा राख्नुभएको छ ।
हिमालयखबरसँग कुरा गर्दै ज्योतिष गौतमले दुई समितिबीच कुनै पनि विवाद र क्षेत्रधिकारको समस्या नरहेको उल्लेख गर्दै अमेरिकामात्र नभएर संसारका कुनै पनि मुलुकमा नेपालको समय अनुसार चाडपर्व मनाउनु मनासिव नभएको बताए । ‘उहाँहरु (अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति) को समिति र हाम्रो समितिमा कुनै पनि विवाद छैन । दुबै समितिमा ख्यातिप्राप्त ज्योतिषहरु हुनुहुन्छ । हाम्रा कार्यसमितिका पदाधिकारीहरु अन्तर्राष्ट्रिय समितिमा पनि हुनुहुन्छ’ उहाँले भन्नुभयो ।
तिथिहरु पश्चिमबाट सुरु भएर पूर्बतिर सर्ने भएकोले अमेरिकामा स्वभाविक रुपमा कहिलेकाँही पर्वहरु पहिलेनै पर्नसक्छन् । यसलाई अन्यथा लिन नहुने भनाई समेत गौतमको छ । ‘अमेरिकामा बस्ने, अनि कानुन चाँही नेपालको मान्छु भनेर मिल्छ ?’ उहाँले प्रश्न गर्नुभयो–‘अमेरिकीभूमिमा मात्र नभएर संसारको जुन देशमा बसेको हो त्यहाँको कानुन, नियम जसरी फरक पर्छ, जसरी समय फरक पर्छ, जसरी अक्षांश र देशान्तर फरक पर्छ, त्यसैगरि तिथिहरु पनि कहिलेकाँही फरक पर्छन् ।’
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराई लामो समय नेपाल सरकारको मान्यता प्राप्त नेपाल पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष रहिसक्नु भएकोले उहाँ लगायतको टीमले कसैको मोहलिजा र स्वार्थमा नपरि धर्म, शास्त्रसम्मत निर्णय गरेकोमा आफू ढुक्क भएको समेत गौतमको भनाई छ ।
नेपालमा बा–आमाले टीका नलगाई अमेरिकामा बस्ने छोराछोरीले लगाउन मिल्छ ? भन्ने हिमालयखबरको जिज्ञासामा अध्यक्ष गौतमले यो कुरा बेकारको भएको बताउनुभयो । बाउ आमाले टीका नलगाएसम्म बिदेशमा रहेको छोराछोरीले लगाउनु हुँदैन भन्ने कुरा कुनै धर्मशास्त्रमा नभएको समेत उल्लेख गर्नुभयो ।
‘मुख्यकुरा बडादशैंको टीका दशमीका दिन देवी विसर्जन गरेर लगाउने हो’ उहाँले भन्नुभयो । अमेरिकामा अक्टोबर ८ तारिकमा दशमी तिथि नरहेको तथ्यलाई पनि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरिसकेको छ ।
नेपालमा पञ्चाङ्ग निर्णायक समितिले बनाएर पास गरेको पात्रो नेपाली भूगोलका निम्ति मात्र मान्य रहने पनि उहाँले स्पष्ट पार्नुभयो । ‘यो पात्रो अमेरिकामा लागु हुँदैन । किनकी भूगोल र समयनै फरक छ । अमेरिका मात्र नभएर ज्योतिषशास्त्र अनुसार हरेक देशका लागि पात्रो र पर्व, साइतहरु फरक हुन्छन्,’ उहाँले भन्नुभयो ।
उता अन्तर्राष्ट्रिय अध्यक्ष माधव भट्टराईले पनि आफूहरुले कसैको वहकाउमा लागेर, कसैका लागि निर्णय नगरेको खगोल विज्ञान, ज्योतिषशास्त्रका आधारमा जे निस्कियो त्यसैका आधारमा निर्णय दिएको बताउनुभयो । ‘धेरैतिरबाट स्वागत आएको छ, पहिलेदेखि नेपालको पात्रो टपक्क टिपेर जहाँ पुग्यो त्यही लागु गर्ने संस्कारलाई सुधार गर्न खोज्दा सामान्य विवाद त आइहाल्छ । त्यसलाई सकारात्मक रुपमै लिनुपर्छ,’ उहाँले भन्नुभयो ।
अमेरिकामा रहेका धेरै भारतीय मन्दिरहरुका क्यालेण्डरमा पनि अक्टोबर ७ मा बडादशैं राखिएको छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया