मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फिनल्याण्ड र युएईले नेपालको विकासमा सघाउने प्रतिबद्धता

फिनल्याण्ड र युएईले नेपालको विकासमा सघाउने प्रतिबद्धता


न्यूयोर्क (अमेरिका) । फिनल्याण्ड र युएईले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
संयुक्त राष्ट्रसंघको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएइ)का उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।
 
मन्त्री ज्ञवालीसँग फिनल्याण्डका विकास सहायता तथा वैदेशिक व्यापारमन्त्री भिले इस्किनारी र संयुक्त अरब इमिरेट्सका विदेश राज्यमन्त्री अन्वर बिन मोहम्मद गार्गसले नेपाललाई सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन् ।
 
फिनल्याण्डका मन्त्रीसँगको भेटमा नेपाल–फिनल्याण्ड सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल र फिनल्याण्डबीच बहुपक्षीय एवं क्षेत्रीय मञ्चहरूमा साझेदारी गर्ने तथा विद्यमान सम्बन्धलाई नयाँ गति दिनेमा दुवै मन्त्रीबीच सहमति भएको छ ।
 
मन्त्री ज्ञवालीले नेपालमा लगानीको अनुकूल वातावरण बनेकाले भौतिक पूर्वाधार, ऊर्जा र जलस्रोतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।
 
नेपालको आर्थिक विकासका निम्ति फिनिस सहयोगको महत्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री ज्ञवालीले विकास र समृद्धितर्फको नेपालको यात्रामा फिनल्याण्डजस्ता नेपालको विकासका साझेदारबाट सहयोगको मात्रामा बढोत्तरीको अपेक्षा आफूले गरेको बताए ।
 
मन्त्री इस्किनारीले नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा आफ्नो देशबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 
त्यसैगरी युएइका विदेश राज्यमन्त्रीसँगको भेटमा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । नेपालीको श्रम गन्तव्य मुलुक युएईमा नेपालीका सुविधा र सुरक्षा, नेपालमा युएईको लगानी, व्यापारलगायत विषयमा केन्द्रित रहेर दुवै मन्त्रीले विचार आदान–प्रदान गरेका थिए । (रासस)