मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रसंघका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा

राष्ट्रसंघका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा


न्यूयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसंघका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
 
संयुक्त राष्ट्रसंघको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरेले नेपाली शान्ति सेनाको बहादुरी, व्यावसायिकता र इमानदारीको प्रशंसा गरेका हुन् । 
 
नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यलाई अन्तरराष्ट्रिय शान्ति तथा स्थायित्वका लागि उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री ज्ञवालीले त्यस कार्यमा सदैव आफ्नो क्षमताअनुसारको सहयोग नेपालबाट निरन्तर प्राप्त हुने प्रतिबद्धता जनाए । 
 
“नेपालको परराष्ट्र नीतिको अभिन्न अङ्गको रूपमा संयुक्त राष्ट्रसंघका लक्ष्य तथा उद्देश्यलाई लिइएको छ, शान्ति स्थापनाका कार्यलाई उच्च प्राथमिकता दिइएको छ”, मन्त्री ज्ञवालीले भने । 
 
मन्त्री ज्ञवालीले नेपालको योगदान र सहभागिताका आधारमा कार्यक्षेत्र र प्रधान कार्यालयमा उच्च तहमा नेपालको उपस्थिति अपरिहार्य भएको बताए । 
 
संयुक्त राष्ट्रसंघले नेपाली शान्ति सेनाको संख्या बढाउन अनुरोध गरेमा त्यसका निम्ति नेपाल सरकार तयार रहेको जानकारी पनि मन्त्री ज्ञवालीले उपमहासचिवद्वयलाई दिएका थिए ।
 
दुवै भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, नायब स्थायी नेपाली प्रतिनिधि घनश्याम भण्डारी उपस्थित थिए । (रासस)