मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मनसुन अझै एक साता लम्बिने

मनसुन अझै एक साता लम्बिने


काठमाडौँ । यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ सम्म भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ । त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् समीर श्रेष्ठले बताए ।
 
“नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५ (जुन २०) मा मनसुन भित्रिएको थियो । त्यसैले यस वर्ष एक–डेढ साता मनसुन लम्बिन सक्छ”, उनले भने । गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो । 
 
मनसुन सकिन जुन किसिमको वातारण आवश्यक पर्ने हो त्यो अहिले भइरहेको छैन । मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ तर अहिले देशभर नै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  
 
त्यस्तै मनसुन अन्त्य हुने बेलामा पूर्वतिर मनसुनी प्रणाली कमजोर हुँदै जान्छ । तर, अहिले पूर्वमा मनसुन सक्रिय छ । अर्का मौसविद् बरुण पौडेलले भने । यस वर्ष औसतभन्दा कम वर्षा भएको उनको भनाइ थियो । 
 
“मनसुनको समय लम्बिए पनि अब भारी वर्षाको सम्भावना भने छैन । मनसुनी गतिविधि केही बाँकी नै रहेकाले दिउसो घाम लागी देशका केही भू–भागमा बेलुका तथा रातको समय हल्कादेखि मध्यम हुनेगर्छ तर वर्षा लगातर नभई छोटो समय हुनेछ । यसमा अत्तिनुपर्ने कुरा छैन”, मौसमविद् पौडेलले भने । 
 
सामान्यतया १०० दिनसम्म मनसुनी वर्षा हुने भए पनि केही वर्षयता ती दिनको सङ्ख्या बढिरहेको छ । आज देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार र बुधबार पनि सो क्रम यथावत रहने बताइएको छ ।  
 
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलम पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।