मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा ‘हाउडी मोदी’ कार्यक्रम, राष्ट्रपति ट्रम्प समेत समारोहमा उपस्थित

ह्युस्टनमा ‘हाउडी मोदी’ कार्यक्रम, राष्ट्रपति ट्रम्प समेत समारोहमा उपस्थित


टेक्सस (अमेरिका)-  भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको स्वागतमा आज अमेरिकी शहर ह्युस्टनमा ‘हाउडी मोदी’को नाममा एक बृहत नागरिक य्राली आयोजना गरिएको छ। टेक्सस इण्डिया फोरमको नाममा ह्युस्टनमा रहेका भारतीय अमेरिकन समुदायका तर्फबाट स्थानीय एनआरजी स्टेडियममा आयोजित महाभेलामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प स्वयं भारतीय प्रधानमंत्री मोदीको स्वागतका लागि आइपुगेका थिए। पचास हजार बढी भारतीय-अमेरिकनहरुले खचाखच स्टेडियममा राष्ट्रपति ट्रम्प सहित पचासौंको संख्यामा अमेरिकी सिनेटर र कंग्रेसम्यानहरु समेत उपस्थित भएका थिए। 
 
समारोहलाई सम्वोधन गर्दै दोश्रो कार्यकालका लागि अधिक बहुमतका साथ प्रधानमन्त्री चुनिएका मोदीले आफ्नो पहिलो कार्यकालमा भारतमा भएको आर्थिक, भौतिक तथा मानवीय विकासका सकारात्मक सूचांकहरुको फेयरिस्त राखेका थिए। सम्वोधनको मुख्य अंश राष्ट्रपति ट्रम्पको प्रशंसामा खर्चेका मोदीले राष्ट्रपति ट्रम्प भारतका सबभन्दा नजिकका मित्र हुन् र उनीभन्दा असल भारतीय मित्र ह्वाइट हाउसमा अरु हुन नसक्ने भनेर पनि भन्न भ्याए। 
 
राष्ट्रपति ट्रम्पले इस्लामिक आतंकवादको बिरोधमा भारत र अमेरिकाले मिलेर काम गर्न चाहेको बताइरहॅदा प्रधानमन्त्री मोदीले पाकिस्तानको नाम नलिइकनै आतंकवादको पक्षपोषणमा उसको संलग्नता रहेको बताए। अमेरिकामा सेप्टेम्वर ११, २००१ मा भएको आतंकवादी हमला होस् या नोभेम्वर २६, २००८ मा  भएको मुम्बई हमला, दुबै घटनाको साजिस एकै ठाउॅमा भएको भन्दै राष्ट्रपति ट्रम्प सहित दर्जनौं अमेरिकी नेताहरु उपस्थित मेगा समारोहमा पाकिस्तानको तेजोबध गर्न पछि परेनन् प्रधानमन्त्री मोदी। 
 
प्रधानमन्त्री मोदीले दोश्रो कार्यकालका लागि समेत ट्रम्प राष्ट्रपति हुनुपर्ने अभिप्राय सहित ‘मेक अमेरिका ग्रेट अगेन’ भनेर राष्ट्रपति ट्रम्पको खुल्ला समर्थन गरे। “२०१७ मा तपाईंले मलाई आफ्नो परिवारसंग परचिय गराउनु भएको थियो, आज म तपाईंलाई मेरो परिवारसंग परिचय गराउॅदै छु”, पचासौं हजार भारतीयहरुका अगाडि मोदीले राष्ट्रपति ट्रम्पलाई परिचय गराए। यस अतिरिक्त भारतीय प्रम मोदीले भारत सरकारले हालसालै भारत प्रशासित कश्मिरलाई दिइएको विशेष राज्यको मान्यता हटाए पछि उत्पन्न असहज परिस्थितिको बचाउमात्र गरेनन्, त्यसको बिरोधीहरु भारतीय जनताको हित र विकास नचाहनेहरु हुन् पनि भने। 
 
अमेरिकी सिनेटमा ‘म्यारथन स्पिकर’को रुपमा परिचित टेक्ससका सिनेटर टेड क्रुज, टेक्सस कै अर्का सिनेटर जोन कर्निन ह्युस्टनका मेयर सिल्भेस्टर टर्नर लगाएतका वक्ताहरुले अमेरिका-भारत सम्वन्ध र भारतीय अमेरिकनहरुले अमेरिकाको आर्थिक तथा भौतिक विकासमा पय्राएको सहयोगको मुक्तकंण्ठले प्रशंसा गरेका थिए। 
 
२०२० को राष्ट्रपति चुनाव अघि ५० औं हजारको संख्यामा उपस्थित भारतीय अमेरिकनहरुको अगाडि सम्वोधन गर्ने सुनौलो मौका राष्ट्रपति ट्रम्पले छोड्ने कुरै थिएन। सपरिवार भारतको भ्रमणका लागि निम्ता पाएका राष्ट्रपति ट्रम्पले आफूले गरेका राम्रा कामहरुको विवरण भारतीय अमेरिकनहरुलाई प्रत्यक्ष सुनाउने मौका छोडेनन्। भारतीय समुदायका तर्फबाट आयोजित संभवत विदेशी नेताका लागि अमेरिकी भूमिमा आयोजित सबभन्दा ठूलो र ऐतिहासिक समारोहमा मोदीलाई सुन्न आएका भारतीय अमेरिकनहरुको मत तान्ने प्रयास स्वुरुप भारतीय अमेरिकनहरुको निकै प्रशंसा गरेका राष्ट्रपति ट्रम्पले उनको प्रशासन भारतीय अमेरिकनहरुको योगदानको कदर गर्न नचुक्ने बताए। करीब ४० लाखको संख्यामा रहेका भारतीयहरुको समर्थन बटुल्न लालयित राष्ट्रपति ट्रम्पका लागि आफ्नो तर्फबाट कुनै प्रयास नगरेरै यति ठूलो जनसमूहसंग साक्षात्कार गर्ने अवसर जुटेको थियो। सन् २०१६ को राष्ट्रपतीय चुनावमा करीब १४ प्रतिशत भारतीय अमेरिकनहरुको मात्र भोट मात्र पाएका राष्ट्रपति ट्रम्पका लागि आजको समारोह आफ्नो प्रभाव विस्तार गर्ने अवसर समेत भयो। प्रधानमन्त्री मोदीको सम्वोधन लगत्तै राष्ट्रपति ट्रम्प र मोदीले आपसमा हात समाएर एरेनाको वरिपरी परिक्रमा गरेर सहभागीहरुको अभिनन्दन स्विकारेका थिए। 
 
टेक्सन शैलीमै आफ्ना प्रधानमन्त्रीको स्वागतका लागि आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा राष्ट्रपति ट्रम्प सहित दर्जनौं अमेरिकी सिनेटर, कंग्रेसम्यान लगाएतकाहरुको सहभागिता भएपछि स्थानीय भारतीय-अमेरिकन आयोजकहरु र सहभागी भारतीयहरुले निकै गौरान्वित महशुस गरेको कार्यक्रममा सहभागी भएर फर्केका भारतीयहरुले हिमालय खबरलाई बताएका छन्। 
 
तस्बिर: हेभी डटकम, आजतक र ह्वाइट हाउसको प्रत्यक्ष प्रशारणबाट