मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षद्वारा शुभकामना

संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षद्वारा शुभकामना


काठमाडौँ । संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरूले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । 
 
उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । 
 
संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गरेका हुन् । 
 
यस्तै, संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 
 
भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वयम् र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् । 
 
सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनता जनताबीचको सम्पर्कले जोडिएका बताएका छन् । 
 
भारत र नेपालबीचको साझेदारी विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 
 
नेपालको भ्रमण गर्न आफूलाई राष्ट्रपति भण्डारीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उनले दुई देशीबीच उच्चस्तरमा आदानप्रदान हुने भ्रमणले एकअर्काप्रति हाम्रो साझेदारीका प्राथमिकता प्रतिबिम्बित हुन्छन् भनेका छन् । 
 
दुवै देशलाई उपयुक्त हुने समयमा नेपालको भ्रमण गर्न आफू प्रतीक्षारत रहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर समृद्धि र प्रगतिको कामना गरेका छन् । 
 
यसैगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले संविधान दिवसको शुभकामना व्यक्त गर्दै अमेरिका र नेपालबीचको सात दशक पुरानो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । 
 
स्वतन्त्र एवम् सार्वभौम नेपालको विकास तथा सबै नेपाली नागरिकको समृद्धिका निम्ति अमेरिका सहयोग गर्न दृढ रहेको बताउँदै राष्ट्रपति ट्रम्पले प्राथमिकताका साझा क्षेत्रमा दुई देशबीचको साझेदारी रहने विश्वास व्यक्त गरेका छन् । 
 
त्यसैगरी, संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै स्विस महासङ्घका राष्ट्रपति विली माउररले स्विस सङ्घीय परिषद् र स्विटजरल्यान्डका जनताका तर्फबाट नेपाल, नेपाली जनता र राष्ट्रपति भण्डारीसमेतको समुज्ज्वल भविष्यको कामना गरेका छन् । 
नेपालसँग सुदृढ सम्बन्ध कायम गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताउँदै सन्देशमा स्वीस राष्ट्रपतिले आपसीमैत्री अझ मजबुद हुने विश्वास व्यक्त गरेका छन् ।