मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वर्तमान सरकार कम्युनिस्ट राज्यमा परिणत हुने त्रास बढ्यो : डा रिजाल

वर्तमान सरकार कम्युनिस्ट राज्यमा परिणत हुने त्रास बढ्यो : डा रिजाल


हिमालयखबर संवाददाता-
अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् मिनेन्द्र रिजालले लोकतन्त्रमा बनेको सरकार कम्युनिस्ट सरकारमा रुपान्तरण होला कि भन्ने त्रास रहेको बताएका छन् ।
 
अमेरिकाको टेक्सस डलासमा आइतबार आयोजित राजनीतिक कार्यक्रममा रिजालले वर्तमान सरकारका कारण निजी उद्यमी व्यवसायीलगायत समाजका विभिन्न क्षेत्र बोल्नबाट त्रसित भएको पनि बताए । 
 
‘हामी प्रतिपक्षमा छौं जनताले दिएको मतअनुसार पाँचै वर्ष प्रतिपक्षमा बस्न चाहन्छौं’, रिजालले भने, ‘तर, हाम्रो जिम्मेवारी सरकारको गलत कार्यको खबरदारी गर्ने हो । यो गर्ने हाम्रो अधिकार र जिम्मेवारी हो ।’ 
 
सरकारले ल्याएको थुप्रै विद्येयकमा नेपाली कांग्रेसको मतभेद रहेको र यो मतभेद राख्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता पनि रहेको उनले बताए । वर्तमान कम्युनिष्ट सरकारप्रति आमजनतामा निरासा पलाइसकेको बताउँदै डा रिजालले यसको अभिव्यक्ति नयाँ मिडियामा देखिन थालेको बताए । 
 
तर, नेपाली कांग्रेसले पनि जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘अहिले नयाँ मिडियाको प्रयोगलाई रोक्नु भनेको चर्को गर्मीमा हत्केलाले घाम छेक्न खोज्नुजस्तै हो ।’
 
नेपाल जनसम्पर्क समिति डलास फेर्टवर्थ र वेष्ट टेक्सस च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रम बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा आयोजना गरिएको हो । बीपी कोइरालाको बारेमा बोल्दै रिजालले महाराजाको शासन बलियो बनाउन तत्कालीन समयमा बीपीको विरोध गरिएको बताए । बीपी नेपाली जनताको जीवनस्तर उठाउन जनताको पक्षमा कुरा उठाउने नेता भएको रिजालले स्मरण गरे । 
 
कार्यक्रममा पूर्वमन्त्री सुरेश मल्ल राणाको राणाका शासनकाल भएको तत्कालीन समयमा बीपीले जुन कदम चाल्नुभयो त्यो अद्भूत भएको उल्लेख गरे । 
 
नेपाली प्रवासी एकता मञ्चका भीम कार्कीले नेपालका कम्युनिष्टहरुले बीपीलाई बुझ्न गल्ती गरेको बताए । उनले बीपी साँच्चै नै नेपालको राष्ट्रवादी र दूरदृष्टि नेता भएको बताए । 
 
इन्द्रेणी सांस्कृत्तिक साँझका अध्यक्ष सुशील क्षेत्रीले वर्तमान बहुमत सरकारलाई पाँच वर्ष चल्न दिन र कामका आधारमा मूल्यांकन गर्न नेपाली कांग्रेसलाई सुझाव दिए । 
 
कार्यक्रम ज्ञानेन्द्र कार्कीको सभापतित्वमा भएको थियो । उक्त अवसरमा महिला संघकी तुलसा आचार्य, स्थानीय शैलेस आचार्य, कृष्ण लामिछाने, भवन मैनाली, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापालगायतले पनि मन्तव्य राखेका थिए । 
 
विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकार उपयोग गर्न दिनुपर्छ : भण्डारी
 
नेपाली कांग्रेस युवा नेता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार हरिबोल भण्डारीले विदेशीलाई दिने भनिएको गैरआवासीय नेपाली नागरिकता मात्र अहिलेको सन्दर्भमा अपर्याप्त रहेको बताएका छन् ।
 
राजनीतिक अधिकारसहितको नेपाली नागरिकताको निरन्तरता दिनुपर्छ, टेक्ससमा आइतबार आयोजित कार्यक्रममा भण्डारीले भने यसले नेपाललाई पनि फाइदा छ । कार्यक्रममा सहभागी नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद् डा मिनेन्द्र रिजालसँग भण्डारीले विदेशमा बस्ने नेपालीको यो चाहनालाई गम्भीर रुपमा लिन आग्रह गरे ।
 
संविधानमा विदेशमा बस्ने नेपालीलाई एनआरएनए नागरिकता दिने उल्लेख छ । तर, उक्त नागरिकता लिँदा भइरहेको नेपाली नागरिकता रद्द हुन्छ र यसमा चुनाव लड्ने र भोट हाल्ने जस्ता राजनीतिक अधिकार दिइएको छैन । 
 
वर्तमान मन्त्री तथा एमाले सांसद् लालबाबु पण्डितले विदेशमा बस्ने आमनेपालीको चित्त दुखाउने गरी भूतपूर्व नेपाली भनेकोमा पनि भण्डारीले आपत्ति जनाए । सांसद् पण्डितको यस्तो अभिव्यक्ति गैरजिम्मेवार भएको हुँदा विदेशमा बस्ने नेपालीले सामूहिक रुपमा प्रतिकार गर्नुपर्ने बताए । 
 
विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्छ यो अहिले नेपाल बाहिर बस्ने नेपालीको माग हो भण्डारीले भने यसले नेपाललाई पनि फाइदा हुन्छ ।
 
विदेशमा बस्ने नेपालीलाई कूटनीतिक नियोगमार्फत नेपालको निर्वाचनमा भोट हाल्ने वातावरण बनाउन पनि भण्डारीले आग्रह गरे । भण्डारीको मागमा डा रिजालले जहाँ बसे पनि नेपाली नेपाली नै हुने बताए ।