मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको विरोध गर्ने तत्वलाई परास्त गर्न युवा संघलाई आग्रह

सरकारको विरोध गर्ने तत्वलाई परास्त गर्न युवा संघलाई आग्रह


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको एकतापछि पार्टी एकढिक्का भएको दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, बिदाइ तथा स्वागत कार्यक्रममा महासचिव पौडेलले आगामी दिनमा नेकपामा गुट र उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए । 
 
उनले गुटका कारण पार्टीलाई क्षति पुग्ने भन्दै विगतका पाना हेर्नेभन्दा पनि वर्तमान र भविष्यलाई हेरी अघि बढ्न जोड दिए । उनले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको हितमा रही ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थकतामा पु¥याउन अहोरात्र खटिरहेको चर्चा गरे । 
 
उनले सरकारले मात्र देशलाई विकसित तथा परिस्कृत बनाउन नसक्ने हुँदा सरकारी, गैरसरकारी सङ्घसंस्था तथा नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । 
 
पार्टी एकतामा केही ढिलाइ भएका कारण देशभित्र तथा बाहिरका प्रतिगामी तत्वहरु पार्टी तथा सरकारको विरुद्धमा उठिरहेको बताउँदै उनले युवा विद्यार्थीले उक्त प्रतिगामी तत्वहरुको विरुद्धमा भण्डाफोर गरी सरकारको पक्षमा जनतामा राम्रो सन्देश दिन आग्रह गरे । 
 
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सङ्घका इञ्चार्ज महेश बस्नेतले युवा नै देशको मेरुदण्ड रहेको बताउँदै युवाले देशको भाग्य र भविष्यको आधार तयार पार्ने बताए । युवा सङ्गठन नै गतिशील सङ्गठन भएकाले युवा सिर्जनशील, खोजमूलक तथा लगनशील हुनुपर्दछ भने । 
 
राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने मुख्य जिम्मा युवामा रहेको बताउँदै युवा सङ्घले सरकार, देश र जनताको विरुद्धमा कुनै पनि गतिविधि गर्ने प्रतिगामी शक्तिलाई परास्त गर्न जस्तोसुकै मूल्य चुकाउनु परे पनि तयार हुनुपर्नेमा जोड दिए । 
 
उनले कुनै पनि युवा बेरोजगारी हुनु नहुने बताउँदै रोजगारी बिनाको युवा संघको नेता तथा कार्यकर्ता हुन नसक्ने समेत उद्घोष गर्दै हरेक युवा उत्पादनसँग जोडिनुपर्दछ भने । 
 
तत्कालीन युवा सङ्घ नेपालका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले दुई सङ्गठन एकता भइसकेपछि विगतका इतिहास पल्टाएर हेरी अघि बढ्नेभन्दा पनि भविष्यको पाना निर्धारण गर्ने गरी युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए । उनले कतिपय युवामा हुने उत्तेजना सिर्जनात्मक कार्यमा कमजोर बनाउने भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रहसमेत गरे ।