मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जापानमा काम, नेपालमा समाजसेवा

जापानमा काम, नेपालमा समाजसेवा


चितवन । आफ्नो लागि त जो पनि बाँचिरहेकै हुन्छन् । आफ्नो र परिवारको उन्नति र प्रगतिको लागि जोकसैले पनि संघर्ष गरिरहेकै हुन्छ । 
 
तर, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजमा पछाडि परेका, हेपिएका, चेपिएका दीनदुःखीहरुको सेवा र सहयोग पुर्याउन अहोरात्र खटिने एउटा नाम हो, दीपकबाबु नेपाल । 
 
चितवन जिल्लाको पूर्वी पाटो रत्ननगर डुम्रीचोकको निम्नमध्यम बर्गीय परिवारका कृष्णबहादुर नेपाल र टीकाकुमारी नेपालका कान्छा छोराका रुपमा साँढे तीन दशकअघि जन्मिएका दीपक विगत १२ वर्षअघिदेखि वैदेशिक रोजगारीको सिलसिलामा जापानमा छन् ।
 
 
सात समुद्र पारी विदेशमा रहेर पनि विशेष गरी गृहजिल्ला चितवनका जोखिममा परेका, दुःख पाएका, शिक्षाको अवसरबाट वञ्चित भएका व्यक्तिहरुलाई सहयोग पु¥याउँदै आएका छन् । 
 
केही वर्षअघि पूर्वीचितवनकै खोलेसिमल निवासी मायादेवी भट्टराईको परिवारका सबै सदस्यले मानसिक सन्तुलन गुमाएपछि दीपले जापानबाट सहयोग संकलन गरी आफूले पनि रकम थप गरेर मायादेवीको निवासमै पुगेर उपचारका निम्ति सहयोग रकम हस्तान्तरण गरेका थिए ।  
 
त्यस्तै, २०७२ सालको भूकम्पले भत्काएको राप्ती नगरपालिका १३ स्थित विकट स्यामराङको चेपाङ गाउँको दुम्वाङ आधारभूत विद्यालयको भवन निर्माणार्थ ‘हामीले नगरे कसले गर्ने’ भन्ने अभियानमार्फत नौ लाख रुपैयाँ सहयोग रकम जुटाएर पठाएका थिए । 
 
त्यसैगरी, रत्ननगरस्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्रको भवन निर्माणार्थ उल्लेख्य रकम जुटाएर परिवारमार्फत हस्तान्तरण गरेका थिए भने सो केन्द्रमा बसेर अध्ययन गरिरहेका १६५ जना चेपाङ बालबालिकाहरुका लागि दैनिक खाद्यसामग्रीका लागि पनि अहोरात्र खटेर सहयोग जुटाइरहेका छन् ।  
 
उनी जापानमा रहँदा दैनिक आठ घन्टा काम गरेर बचेको समय विभिन्न सामाजिक कार्य गर्न सक्रिय भइरहन्छन् । आफ्ना मातापिताको प्रेरणाले सामाजिक काममा लाग्न उत्प्रेरणा मिलेको बताउने दीपक जापानवासी नेपालीहरुमाझ चिरपरिचित नाम हो । 
 
त्यहाँ पनि कोही आपदविपदमा परेको थाहा पाए सहयोग गर्न तयार भइहाल्छन् उनी । केही वर्ष जापान बसेर नेपाल फर्किएका चितवनमा पत्रकार रमेश रानामगर भन्छन्, ‘जापानमा दीपक साँच्चिकै दीप बनेर चम्किरहेका छन् ।’