मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि…

झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि…


धादिङ । कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका–३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ । 
 
जिल्ला अस्पतालमा उपचारका लागि आएका नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले लामो समयदेखि उपचार गर्ने भन्दै बिरामीको पेट चिर्ने गरेको तथ्य खुलेको छ । नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय राजु मगरको गत भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगतसमेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीले बताए । 
 
कमलपित्तको बिरामी परेर उपचार गराइरहेका मगर झाँक्रीकोमा उपचार गराउन गएका थिए । उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए । 
 
सोही बेला उपचारका लागि भनेर कमलपित्त तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग रु आठ हजार ३८० रकम लिएर पत्तीले देब्रेपट्टी पेटमा चिरेको बिरामीको श्रीमती विमलाले जानकारी दिइन् । पेट चिर्ने बेलामा झाँक्रीले बिरामीको श्रीमती र सँगै गएका बहिनीलाई बाहिर निकालेर पेटमा सुई लगाएर बिरामीको पेटमा चिरेका थिए । पेट चिरेपछि आएको रगतसमेत झाँक्रीले आफूले चुसेको बिरामी मगरले बताए । 
 
करिब दुई महिनादेखि कमलपित्तले थलिएका मगर कमलपित्तसँगै झाँक्रीले चिरेको घाउसमेत पाकेपछि वीर अस्पतालमा पठाइएको छ । कलेजोको समस्यासमेत देखिएकाले थप उपचार आवश्यक भएको र सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि यसरी पठाइएको जिल्ला अस्पतालले जानकारी दिएको छ । 
 
मगर कमलपित्त चाँडै निको हुने आशामा झाँक्री कहाँ पुगेका थिए । मजदूरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्युसँग जुधिरहेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको बिरामीकी श्रीमती विमलाको भनाइ छ । 
 
लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । उनको यसअघि पनि केही घटना विवादमा आएका थिए । तीन वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको पाँच महिनाको बच्चा उपचार गर्ने बहानामा फालिदिएका थिए । ती महिलालाई प्रहरीकामा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी नगरेको अधिकारकर्मी राधिका सापकोटाले जानकारी दिइन् । 
 
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोतीराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाले आवश्यक कारबाही गरिने बताए । रासस