मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश नं ३ को प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

प्रदेश नं ३ को प्रदेशसभाको चौथो अधिवेशन अन्त्य


हेटौँडा । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिमको चालू चौथो अधिवेशन अन्त्य गरेकी छन् ।  
 
आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कोइरालाले पठाएको सूचना पढेर सुनाएका थिए । प्रदेशसभाको बैठक अन्त्य गर्न मुख्यमन्त्री डोरमणि पौडेलले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष आज बिहान नै सिफारिस गरेर पठाएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । 
 
दुई विधयेक पारित 
 
प्रदेश नं ३ को प्रदेशसभाको आज अपराह्न बसेको बैठकले दुई वटा विधेयकलाई बहुमतले पारित गरेको छ । प्रदेशमा सार्वजनिक निजी, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
 
आन्तरिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले उक्त बैठकमा सो विधेयक क्रमशः पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । उक्त छलफलमा उठेका जिज्ञासाको आन्तरिक मामिला ढुङ्गेलले उत्तर दिए । उनले सरकारले निष्पक्ष र पारदर्शीको सार्वजनिक, निजी क्षेत्रका सहकारीलाई समन्वय र सहकार्यबाट प्रदेशका दुर्गम भेगका जनतालाई कृषि उत्पादन, पशुपालन एवं आर्थिक आत्मनिर्भर बढाउने कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको बताए । 
 
सो छलफल कार्यक्रममा प्रदेशसभाका सदस्य रीना गुरुङ, विजया केसी श्रेष्ठ, नारायणबहादुर सिलवाल, राजेन्द्र गुरुङले सार्वजनिक सहकारीलाई पहुँच नभएको जनताका बीच क्रयशक्ति बढाउन सरकारले कार्यक्रमका साथै अनुदान लगानी गर्नुपर्ने, सहकारीलाई नियन्त्रण गर्न तत्काल अनुगमनको प्रक्रियालाई सञ्चालन गर्न माग गरिन् । 
 
प्रदेशसभाको चौथो अधिवेशन बैठक विसं २०७६ वैशाख ३० गतेदेखि शुरु भई आजसम्म जम्मा ३२ पटक बैठक बसेको उक्त सचिवालयले जनाएको छ । सो अवधिभित्र सचिवालयमा ४५ वटा विधेयक दर्ता गरिएकोमध्ये आजको बैठकसम्ममा ४१ वटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले स्पष्ट गरेको छ । पारित भएको ४१ वटा विधेयकमध्ये ३८ वटा विधेयकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरिसकेकी छन् । 
 
प्रदेशसभाको आजै बसेको बैठकमा प्रदेशसभाका १५ जना सदस्यले विभिन्न समयमा बैठकमा कारणबस उपस्थित हुन नसकिएका कारण दर्शाउँदै बिदा स्वीकृतिको माग गरेबमोजिम बैठकको बहुमतले बिदाको स्वीकृत प्रदान गरेको छ ।  
 
प्रदेशसभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस, साझा विवेकशील पार्टी, नेपाल किसान मजदूर पार्टी, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्र सांसदसहित जम्मा १०९ जना प्रदेशसभाका सदस्य छन् । प्रदेशसभाको बैठक मुख्यमन्त्री परिषद्को सिफारिसबमोजिम प्रदेश प्रमुख कोइरालाले आज राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।