मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्दैछ : प्रधानमन्त्री ओली, ‘अत्यन्त खुसी छु’ : समकक्षी मोदी

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्दैछ : प्रधानमन्त्री ओली, ‘अत्यन्त खुसी छु’ : समकक्षी मोदी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताएका छन् । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताए । 
 
उनले पाइपलाइन परियोजना सञ्चालनमा आएपछि समयको बचत हुनाका साथै ढुवानी लागत कम हुने, वायु प्रदूषण न्यूनीकरणमा सहायता मिल्ने बताए । “पाइप लाइन परियोजनाले नेपाली उपभोक्तामा सकारात्मक प्रभाव पारेको छ”, प्रधानमन्त्रीले भने, “आजैदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको छ ।”
 
उनले आयोजना सम्पन्न गर्न भारत सरकारले गरेको सहकार्य र सहायताका लागि आभार प्रकट गरे । “परियोजना नेपाल र भारतको व्यापार तथा पारवहन पूर्वाधारको सम्बन्धमा ‘कनेक्टिभिटी’ को सर्वश्रेष्ठ उदाहरणसमेत हुनेछ”, प्रधानमन्त्री ओलीले भने,  “यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।”
 
नेपाल–भारतको सहकार्यका क्षेत्र एकाध परियोजनामा मात्र सीमित नरहेको उल्लेख गर्दै उहाँले रेलवे, सडक, जलविद्युत्, एकीकृत जाँच चौकीलगायत विविध क्षेत्रमा द्विपक्षीय सहायताका लागि सम्झौता भएको बताए । 
 
प्रधानमन्त्री ओलीले पारस्पारिक लाभका लागि दुई देशबीच साझेदारी र सहयोगलाई थप सुदृढ पार्न सक्षम वातावरण सिर्जना गरेको बताए । “हाम्रा दुई देशबीचको सम्बन्ध यति गहन छ, यसलाई जहाँ र जहिले पनि विस्तार गर्ने अवसर रहेको छ”, उनले भने ।
 
नेपाल र भारत दुवै स्पष्ट बहुमतसहित राजनीतिक स्थायित्वको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “बढ्दो आर्थिक वृद्धिदर, गतिशील र सक्षम मानव संशाधनको उपलब्धताले हामीलाई विकास र समृद्धिका लागि आशाजनक वातावरण तयार गरेको छ ।”
 
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका छन् ।  
 
‘अत्यन्त खुसी छु’ : मोदी
 
सोही अवसरमा नयाँ दिल्लीबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएकामा आफू अत्यन्त खुसी रहेको बताए । उनले भने, “म अत्यन्त खुसी छु, दुवै मुलुकको संयुक्त प्रयासमा परियोजना सम्पन्न भएको छ ।”
 
भारत र नेपालबीच सदियौँदेखि जनस्तरमा पारिवारिक र सांस्कृतिक सम्बन्ध रहेको औँल्याउँदै उनले नेपालको विकास प्रयासमा भारतको सधैँ साथ र सहयोग रहने बताए । “दुई देशका जनता जनताबीचको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधारका रुपमा रहेको छ”, उनले भने । 
 
नेपालको उच्च राजनीतिक नेतृत्वसँग आफू बारम्बार संवादका क्रममा रहेको स्मरण गर्दै उनले पछिल्लो डेढ वर्षमा आफूले चारपटक नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गरेको बताए । 
 
भारत र नेपालको समृद्धिका लागि परस्पर हितका आधारमा साझेदारी गरिएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुवै मुलुकलाई लाभ हुने गरी विकासका नयाँ नयाँ क्षेत्रमा समझदारी गरिएको बताए । दुवै मुलुकका सरकारको उच्च प्राथमिकतामा रहेकाले सो परियोजना तोकिएको समयमै सम्पन्न भएको उनको भनाइ थियो । 
 
प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमण गर्न आउने प्रतिबद्धता व्यक्त गरे ।