मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

शिवरात्रीमा ड्यालसमा भव्य मन्दिर निर्माण सुरु हुँदै (भिडियो सहित)

शिवरात्रीमा ड्यालसमा भव्य मन्दिर निर्माण सुरु हुँदै (भिडियो सहित)


हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस) । आउँदो शिवरात्रीको दिनमा ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेसमा भव्य पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माण थालनी हुने भएको छ । 
 
मन्दिर निर्माण सुरुवातको लागि आवश्यक पर्ने डाउन पेमेन्टको रकम लगभग संकलन हुने क्रममा पुगेकोले मन्दिरको निर्माण सुरु हुने भएको हो । शनिबार साँझ आयोजित विशेष कार्यक्रममा बैंक खातामा ७ लाख ५० हजार डलर जम्मा भैसकेको र ५० हजार डलर पछिको मितिको चेक संकलन भएको जानकारी फण्डरेजिङ कमिटीका संयोजक कृष्ण लामिछानेले जानकारी दिनुभयो ।
 
‘हामीलाई शिवरात्रीका दिन निर्माण थालनी गर्न १२ लाख डलर चाहिन्छ’ मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालले भन्नुभयो । त्यो रकम लगभग संकलन हुने क्रममा पुगेको छ ।
 
ड्यालस फोर्टवर्थको युलेसमा भव्य पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपा सहितको भव्य मन्दिर निर्माण गर्न नेपालीहरु जुटेका छन् । त्यसको लागि ५० लाख डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 
 
‘केही दिनभित्रै स्टेरिङ कमिटीको बैठक बसेर निर्माणको थप प्रकृयामा अघि बढ्दैछौ,’ बिओटी अध्यक्ष अर्यालले भन्नुभयो । स्टेरिङ कमिटीको संयोजकमा ड्यालस फोर्टवर्थका सबैका प्रिय व्यक्तित्व रमेश पोखरेल हुनुहुन्छ । 
 
मन्दिर र स्तुपा सहितको हलहरुको डिजाइनलाई अन्तिम रुप दिनका लागि स्टेरिङ कमिटीले प्रकृया अघि बढाउनेछ । नेपाली इन्जिनियर रवि अधिकारी सहितको प्राविधिक टोलीले तयार पारेको डिजाइनलाई धेरैले मन पराएका छन् । 
 
शनिबार आयोजित कार्यक्रममा मन्दिरका लागि ५० हजार डलर सहयोग गरेर संरक्षक बन्नुभएका ११ जनालाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो । संरक्षक बन्नुभएकाहरुमा गौरीराज जोशी, डा. मुरली अधिकारी, बासुदेव भण्डारी, कपिल अधिकारी, डा. सञ्जिव श्रेष्ठ, दिपेश श्रेष्ठ, यमुना भट्टराई, भीम कार्की, शैलेन्द्र मानन्धर, अनिल पाठक र नरेशराज पाण्डे हुनुहुन्छ । 
 
त्यस्तै पुरै रकम चुक्ता गरेर संस्थापक, बोर्ड अफ ट्रष्टी बन्नुभएकाहरुलाई पनि शनिबारनै सम्मानपत्र हस्तान्तरण गरिएको थियो । अनरेवल बोर्ड अफ ट्रष्टीको सदस्य हुन १५ हजार, बोर्ड अफ ट्रष्टीका लागि ११ हजार, संस्थापक सदस्यका लागि तीनहजार, अनरेवल संस्थापक सदस्यका लागि ५ हजार र संस्थापक सदस्यको लागि तीनहजार सहयोग गर्नुपर्छ । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेका धेरैले किस्तावन्दीमा तिर्नेगरि मन्दिर निर्माणका लागि सहयोग गरेका छन् । 
 
शनिबारको कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साहले मन्दिर र सामुदायिक भवनले समाजलाई जोड्ने उल्लेख गर्नुभयो । उहाँले ड्यालसबाटै प्रेरणा लिएर अमेरिकाका धेरै राज्य र शहरहरुमा रहेका नेपालीहरुले मन्दिर सहितको सामुदायिक भवन निर्माण गरिरहेको प्रसंग समेत उठाउनुभएको थियो । 
 
युलेसको मन्दिर परियोजनामा अहिलेसम्म ६ सय ५६ परिवार जोडिइसकेका छन् । यसमध्य ११ जना संरक्षक, ४८ जना अनरेबल बोर्ड अफ ट्रष्टी, ३७ जना बोर्ड अफ ट्रष्टी, १७३ जनाले संस्थापक सदस्य हुन प्रतिवद्धता जनाइसकेका छन् । 
नयाँ मन्दिर अमेरिकाका रहेका नेपालीमुलका चौथो पुस्तालाई समेत थेग्नेगरि बनाउन लागिएको प्राविधिक रवि अधिकारीले उल्लेख गर्नुभयो । अहिले अर्भिङमा रहेको मन्दिर सहितको सम्पत्तिलाई बिक्री गरिने र सहयोगदाताबाट प्राप्त सहयोग, बैंक ऋण समेत गरेर युलेसमा भव्य मन्दिर निर्माण गरिने जनाईएको छ ।
 
मन्दिरलाई १५ हजार सहयोग दिएर अनरेबल बोर्ड अफ ट्रष्टी हुनुभएकी शकुन्तला ढकालले अहिलेको मन्दिरमा जाँदा प्रयाप्त पार्किङको अभाव, भैरहेको संरचना साँघुरो महसुस भएकोले नयाँ मन्दिर बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । ७ वर्ष अघि निर्माण हुँदा अहिलेको मन्दिर ठूलो जस्तो लागेकोमा नेपालीहरुको संख्या बढेसँगै मन्दिरमा झण्डै एकसय वटा गाडी अटाउने पार्किङ भएपनि सधैँभरि समस्या हुँदै आएको छ । बिभिन्न गतिविधिहरु गर्न हल, कोठाहरुको समेत अभाव महसुस भएको छ । 
कार्यक्रममा नेप्लिज बुद्धिष्ट एसोसिएसन टेक्ससको तर्फबाट युलेस प्रोजेक्ट अघि बढाउन एकलाख ८ हजार सहयोगको घोषणा स्वयम्भुराज शाक्यले गर्नुभएको थियो ।
 
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले मन्दिर सहितको बुद्ध स्तुपा परियोजनामा जोडिनका लागि नेपाली समुदायसँग आग्रह गरेको छ । ‘यो परियोजनामा ठूलो धनराशी लगानी हुने भएकोले सबैको सहयोग र सद्भाव हामीले अपेक्षा गरेका छौ,’ केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलले भन्नुभयो ।