मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एसिड प्रहार गर्नेलाई कारबाहीको माग

एसिड प्रहार गर्नेलाई कारबाहीको माग


काठमाडौँ । शुक्रबार बिहान वीरगन्जमा १४ वर्षीया बालिका मुस्कान खातुनमाथि एसिड प्रहारको घटनालाई लिएर प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दोषीमाथि कारबाही र पीडितलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै विद्यालय गइरहेकी खातुनमाथि स्थानीय युवाले एसिड प्रहार गरेका थिए । पीडित खातुनको कीर्तिपुरमा उपचार भइरहेको छ । 
 
बिहान घरबाट बाहिर निस्केकी युवती घर फर्कने हुन् कि होइनन् भन्ने सन्त्रास अभिभावकमा बढेको छ भन्दै उनीहरूले सरकारले दोषीलाई कडा कारबाही गर्न नसकेकामा गुनासो गरे । 
 
आर्थिक अवस्था कमजोर भएका कारण खातुनको परिवारलाई उपचार गर्न समस्यामा परिरहेको छ । सांसद एकवाल मियाँले बालिका खातुनलाई एसिड प्रहार गर्नेलाई कडा कारबाहीको माग गरिन् । उनले अपराध नियन्त्रणमा सरकार कमजोर भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले यस विषयमा सदनमा जवाफ दिनुपर्ने र एसिड बेचबिखन गर्नेलाई समेत कानूनी दायरामा ल्याउन आग्रह गरिन् । 
 
सांसद प्रदीप यादवले पनि खातुनको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । उनले खातुनको उपचारका लागि आफ्नै पारिश्रमिकबाट रु ५० हजार र प्रदेश नं २ सरकारले रु पाँच लाख उपलब्ध गराएको जानकारी दिँदै आर्थिक अवस्था कमजोर भएकाले उनलाई थप सहयोगका लागि सङ्घीय सरकारले पनि रकम उपलब्ध गराउनुपर्नेमा जोड दिए । 
 
सांसद यादवले भने, “एसिड किराना पसलमा समेत पाइन थाल्यो, एसिड बिक्री गर्नेलाई अनुमतिपत्र लिने व्यवस्था गर्नु आवश्यक देखियो । खरीद गर्नेबाट पनि नागरिकताको प्रमाणपत्रको प्रतिलिलिप लिएरमात्रै किन्न पाउने व्यवस्था गर्नु जरुरी देखियो ।”
 
सांसद शेख चाँदताराले पछिल्ला दिनमा एसिड आक्रमण बढेकाले यस्ता दोषीलाई कडा कानूनी कारवाही गर्न माग गरे । उनले कानूनमै कडा  सजायको व्यवस्था गरी छोरीचेली बचाउन आग्रह गरे । 
 
सांसद प्रेम सुवालले सङ्घीय संसद्ले नै खरीद गरेको सवारीसाधनमा चरम भ्रष्टाचार भएकाले जनताले गुनासो गर्न थालेको भन्दै तत्काल छानबिन गरी प्रतिवेदन संसद्मा पेश गर्न आग्रह गरे । उनले एनसेलको पूँजीगत लाभकरको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले सन्देह पैदा गरेको भन्दै सो विषयको सत्यतथ्य पत्ता लगाउन माग गरे ।