मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अफगानिस्तानमा मारिएकाको शव ल्याउन पहल

अफगानिस्तानमा मारिएकाको शव ल्याउन पहल


चितवन । अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णबहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन् । 
 
तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो । 
 
मृतक थापाकी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रबार पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । 
 
यस विषयमा अध्यक्ष दाहालले चासो दिएर नियमितरूपमा ती निकायमा सम्पर्क गरिरहको उनले जानकारी दिइन् । उनको टेलिफोनलगत्तै शनिबार उनीहरूको मृत्युको प्रमाणपत्र आएको, सोमबार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताइन् । 
 
‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरू कार्यरत थिए । ४५ दिनको बिदा सकेर काबुल फर्किएको नवौं दिनमा थापाको आत्मघाती आतङ्कवादीको हमलामा परी मृत्यु भएको थियो । 
 
विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रूपमा कार्यरत थापा अन्तिमपटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताइन् । मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् ।