मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिंगो गाउँ नै भाइरल ज्वरोबाट संक्रमित

सिंगो गाउँ नै भाइरल ज्वरोबाट संक्रमित


पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् । 
 
गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि गाउँपालिकाले शिविर नै खडा गरेर स्वास्थ्य उपचार सेवा दिएको स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकालले बताए । भाइरल ज्वरोका बिरामीमध्ये १७ जना विद्यार्थी रहेका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य उपचार तथा औषधि दिइएको छ । 
 
गाउँपालिकाका अन्य क्षेत्रमा पनि फाट्टफुट्ट मात्रामा भाइरल ज्वरोका बिरामी देखापरेका छन् । जिल्लाको तानसेन, रामपुर क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी देखिएका छन् । भाइरल ज्वरोबाट बच्न जिल्लाका सबै स्वास्थ्य संस्थामा बिरामीको राम्रो रेखदेख र सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । 
 
प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, उमालेको पानी मात्र प्रयोग गर्ने, दोहोरो हावा आउने शान्तपूर्वक ठाउँमा बस्ने, भीडभाडमा नजाने, हात नमिलाउने, अङ्कलमाल नगर्ने र कुनै स्वास्थ्य समस्या भएमा नजीकको स्वास्थ्य संस्थामा उपचार तथा सल्लाह लिन जाने गरेमा भाइरल ज्वरोबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीको सुझाव छ ।
 
रुघाखोकी लागेजस्तो हुनु, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, नाकबाट सिँगान बग्नु, शरीर दुख्नु, खान मन नलाग्नेजस्ता भाइरल ज्वरोको लक्षण हुन् । स्वास्थ्य संस्थामार्फत नागरिकलाई भाइरल ज्वरोबाट सचेत रहन विभिन्न जनचेतना दिइएको छ ।
 
कोठाबाट सेवा दिँदा महिला बिरामीलाई सास्ती
 
रामपुर नगरपालिका–१० को सहरी स्वास्थ्य केन्द्रमा महिला बिरामीलाई सेवा लिन समस्या परेको छ । सेवा लिन पुगेका कतिपय महिलाभित्रै नपसी बाहिरबाटै फर्कने गरेको पाइएको छ ।
 
महिलासम्बन्धी विभिन्न समस्या लिएर स्वास्थ्य केन्द्रमा पुगेका बिरामी अझै पनि डर र लाजका कारण आफ्ना समस्या बताउन हिचकिचाउने गरेको पाइएको छ । कतिपय महिला स्वास्थ्यकर्मीलाई बाहिर बोलाएर मात्र आफ्ना समस्या बताउने गर्छन् भने कतिपय भित्र अन्य बिरामी तथा पुरुष स्वास्थ्यकर्मी देखेपछि उपचार नै नगराई अर्को दिन स्वास्थ्य केन्द्रमा पुग्ने गरेका छन् ।
 
गर्भवती, महिलासम्बन्धी विभिन्न रोगका बिरामी डर र लाजका कारण सेवा लिन हिचकिचाउने गरेको स्वास्थ्य केन्द्रका अनमी बिन्दु पाण्डेय अधिकारी बताउँछन् । “एक जना पुरुष स्वास्थ्यकर्मी हुन्, उनलाई बाहिर पठाएर मात्र जाँच गर्ने गरेका छौँ, गर्भवती तथा महिलासम्बन्धी विभिन्न समस्या भएका बिरामीले कोठा बाहिरै बोलाएर समस्या बताएरमात्र भित्र पस्ने गर्छन्”, उनले भने ।
 
अन्य बिरामीको तुलनामा महिला बिरामीलाई कोठा अभावमा जाँच गर्न अप्ठ्यारो परेको उनी बताउँछन् । स्वास्थ्य केन्द्रमा महिनामा १० जनाको हाराहारीमा गर्भवतीले सेवा लिने गरेको पाइएको छ । कोठाको अभाव हुँदा सेवा लिनका लागि पालो पर्खेर बस्नु परेको गर्भवती महिला सविता भण्डारीको भनाइ छ । “घरबाट बल्लबल्ल समय निकालेर आयो, समयमै परीक्षण गर्न नपाउँदा समस्या भएको छ” उनले भने ।
 
“गर्भवती जाँच गराउन दुई–तीन घण्टा पालो पर्खनुपर्छ, सबैका अगाडि जाँच गर्न र आफ्ना समस्या बताउन अप्ठ्यारो हुन्छ”, भण्डारीले गुनासो गरे । एउटै कोठामा सबै बिरामीलाई राखेर स्वास्थ्य परीक्षण गरिने हुँदा महिला आफ्ना समस्या बताउन लजाउने गर्छन् । 
 
अधिकांश महिलाले घरपरिवार, आफन्तको डर र लाजका कारणले खुलेर आफ्ना स्वास्थ्य समस्या बताउन नचाहेको पाइन्छ । स्थानीय आमा समूहको सानो भवनबाट सेवा दिन समस्या परेको सहरी स्वास्थ्य केन्द्रका प्रमुख जगन्नाथ भण्डारी बताउँछन् । रासस