मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनतामा बेचैनी बढ्यो, अब एक्सनमा जानुपर्छ : अध्यक्ष प्रचण्ड

जनतामा बेचैनी बढ्यो, अब एक्सनमा जानुपर्छ : अध्यक्ष प्रचण्ड


चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनताले छिटोभन्दा छिटो विकास चाहेको बताउँदै जनताले विकासले गति लिएको देख्न नपाए उनीहरूमा बेचैनी बढेर जाने बताएका छन् ।
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, “हामीले छिटोभन्दा छिटो ‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ । नेताहरू विकासको नयांँ युगतिर जानुपर्छ ।” नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको उनको भनाइ थियो ।
 
भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए । अब देशले राजनीतिक अन्योल र अस्थिरता थाम्न नसक्ने भएकाले हामी सबैको ध्यान विकास र निर्माणतर्फ लगाउन जरुरी भएको उनको भनाइ थियो ।
 
देशमै रोजगारी सिर्जना गरी विकासलाई नयांँ युगतिर लैजान जोड दिँदै अध्यक्ष दाहालले देशमा शान्ति, स्थिरता र राष्ट्रको एकतासँगै संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सबै लाग्न पनि आग्रह गरे ।
 
नवलपरासी, मकवानपुर, धादिङ र गोर्खाको केन्द्रबिन्दुका रुपमा रहेको चितवनलाई नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको बताउँदै उनले यहांँ रहेको भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 
विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका विषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्री एवं उच्च अधिकारीहरूसंँग छलफल गरिने अध्यक्ष दाहालले बताए ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौँ विमामस्थलमा चाप बढ्दै गएकाले आन्तरिक साना जहाज उडान र अवतरणका लागि वैकल्पिक विमानस्थलको रुपमा भरतपुरलाई विकास गरिने र यसका लागि अध्ययन गर्न एक हप्ताभित्र समिति गठन गरी काम अघि बढाइने बताए । उनले अब यस खालका छलफल र बैठक गर्न काम अघि बढाइने बताए ।
 
मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रममा पनि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार गरी रात्रिकालीन उडान गर्ने जानकारी दिँदै मन्त्री भटृराईले उक्त विमानस्थल जोखिमपूर्ण बन्दै गएकामा भने उडान बन्द गर्ने वा विस्तारको विकल्प नभएको बताए ।
 
मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले आवश्यक ठानेमा संँगै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न सकिने जानकारी दिए ।
 
आफ्नो प्रदेशका सबै जिल्लामा साना विमानस्थल जरुरी रहे पनि भरतपुर विमानस्थललाई विस्तार गरिनुपर्नेे, प्रदेशको राजधानी हेटौँडा नै सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको र यसका लागि पनि भरतपुर विमानस्थल विस्तार गर्नुपर्नेमा उनले जोड दिए । नेपाली सेनाका प्रदेश नम्बर ३ का पृतनापति ताराध्वज पाण्डेले सेना विकासको बाधक नभएको भन्दै प्राविधिक समिति बनाएर आवश्यक गृहकार्य गर्न सकिने बताए ।
 
अन्तरक्रियामा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य, राजनीतिक दलका प्रमुख एवं स्थानीय उद्योगी, व्यवसायी र सरोकारवाला निकायका पदाधिकारीले विमानस्थल विस्तारका लागि सुझाव दिएका थिए ।
 
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जिल्लामा एकै खालका दुई विमानस्थल आवश्यक नहुने भन्दै भरतपुर विमानस्थललाई काठमाडौँको वैकल्पिक विमानस्थलको रुपमा विकास गरिनुपर्ने बताए । उक्त विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई स्थानान्तरण गर्न आवश्यक जग्गा उपलब्ध गराउन सकिने उनको भनाइ थियो ।
 
नागरिक उड्डयन प्राधिकरणका एरोड्रम इञ्जिनीयरिङ विभागका निर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले भरतपुर विमानस्थलको प्राविधिक पक्ष र उक्त विमानस्थलका प्रमुख पवन गौतमले विमानस्थलको समग्र अवस्थाबारे जानकारी गराएका थिए । 
 
धावनमार्ग छोटो हुँदा जहाज उडान र अवतरणमा कठिनाइँ हुँदै आएको छ । नजिकै रहेको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गरेर ७२ सिटे जहाज अवतरण गर्न सक्ने बनाउनका लागि पहल थालिएको हो । उक्त विमानस्थलबाट दैनिक ११ वटा जहाज काठमाडौँ र पोखरा उडान हुँदैआएको छ । तस्बिर : नारायण अधिकारी / रासस