काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको स्वास्थ्य उपचार, गौहत्या, मूल्य वृद्धि, मिटरव्याजको धन्दा, संविधान संशोधन, शान्तिसुरक्षा, स्वास्थ्य सेवामा बेथिति र एनसेल करसम्बन्धी विषय उठान गरेका छन् ।
नेकपाका प्रभु साहले कृषकलाई ऋणको अधिकार छ कि छैन भनी प्रश्न गर्दै बैँकहरूलाई कृषि ऋण प्रवाह प्रतिशत बढाउने नीति बनाउन सरकारलाई सुझाव दिए । उनले भने, “साहु महाजनबाट खुलेआममा भइरहेको मिटरब्याजी धन्दाबाट सर्वसाधारण ठूलो मारमा परेका छन्, कृषिमा आधुनिकरण नभई मुलुकले समृद्धि हासिल गर्न सक्दैन, कृषि ऋण वास्तविक किसानले पाउन सकेका छैनन्, बैंकमा निक्षेप र कर्जा प्रवाहबीच ठूलो अन्तर छ, निक्षेपका आधारमा कर्जा प्रवाह गरेर निष्किय पूँजीलाई सक्रिय तुल्याइयोस् ।”
नेपाली कांग्रेसकी सांसद डिला सङ्ग्रौलाले दैलेखमा भीरबाट लडाएर गौहत्या गरी चरम क्रूरता प्रदर्शन गर्ने कार्यमा संलग्न अपराधीलाई हदैसम्मको सजाय दिलाउन सरकारसँग माग गरिन् ।
उनले भनिन्, “गाई नेपालको राष्ट्रिय जनावरमात्रै नभई धर्म, संस्कृति, परम्परा र विश्वासको प्रतीकका रुपमा रहेको हुँदा दैलेखको घटना जघन्य अपराध भएकाले निन्दनीय छ, नियोजित ढङ्गले भीरबाट खसाल्ने काम भएको छ, घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न तथा खोटाङमा तलब दिएर कुकुर मार्ने कार्य रोकेर पशु अधिकारवादीको कुरा सरकारले सुन्नुपर्छ ।”
कांग्रेसकै सांसद देवेन्द्रराज कँडेलले मानवीय संवेदनशीलता विपरीत दैलेखमा गरिएको गौहत्यालाई जघन्य अपराध भएको संज्ञा दिँदै त्यसमा संलग्नलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न माग गरे ।
राष्ट्रिय जनता पार्टी नेपालका महेन्द्र यादवले आफ्नो दल निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “कुनै दल वा अरु विषयलाई देखाएर विमानस्थल सार्ने काम नहोस्, तर त्यहाँ रहेको महत्वपूर्ण वन नै सखाप पार्ने गरी होइन, कम क्षति हुने गरी अन्त्यन्त न्यून रुख कटान होस् । वातावरण संरक्षणमा सबैको चासो र ध्यान जाओस् ।”
समाजवादी पार्टी नेपालकी रेणुकुमारी यादवले सदनमा संविधान सशोधन, नागरिकता, अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि र भ्रष्टाचारका कुरा उठे पनि सरकारले त्यसलाई बेवास्ता गरेको भनी आपत्ति प्रकट गरिन् ।
उनले भनिन्, “तरकारीलगायत दैनिक मूल्य वृद्धिका कारण विद्यार्थीलगायत सर्वसाधारण ठूलो महँगीको चपेटामा परेका छन्, वाइडबडी र सुनकाण्डमा संलग्न अपराधी दण्डित नहुँदा शान्ति सुरक्षा कमजोर भएको तथा सुरक्षा निकाय दल विशेषको भ्रातृ संगठनको रुपमा काम गरिरहेको स्पष्ट हुन्छ ।
नेकपाका शेरबहादुर तामाङले ठूला करदाता कार्यालयलाई अदालतको आदेशअनुरुप एनसेलको कर छिटो उठाउन सुझाव दिँदै यो विषय फेरि संसदको छानबिनको विषय बनाउने वातावरण नबनाउन ध्यानकर्षण गरे ।
नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सदनलाई आजसम्म किन जानकारी गराइएन भनी प्रश्न गरे । नेकपालाई उनको कार्यबोझ घटाउन सुझाव दिँदे भने, “कार्यकारी लामो समयसम्म मुलुकबाहिर बस्दा राज्य सञ्चालनमा अप्ठ्यारो हुन्छ, उहाँलाई धपेडी नगर्ने र आराम गर्ने वातावरण दलले गर्नुपर्छ, यो कुरा कसैलाई नराम्रो र व्यक्तिगत लाग्न सक्छ तर व्यक्तिगत होइन, मानवीयतासँग जोडिएको विषय हो ।”
सोही दलका दिलेन्द्रप्रसाद बडूले प्रतिपक्षले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दा किन झस्केको भनी प्रश्न गर्दै मुलुकमा व्याप्त हँुदै गएको भ्रष्टाचार रोक्नेतर्फ सरकारको ध्यान जाओस् भने ।
नेकपाकी पूर्णकुमारी सुवेदीले नेपालगञ्ज विमानस्थललाई विस्तार गरी क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने विषय अब कार्यान्वयन होस् भनिन् ।
काङ्ग्रेसका सञ्जयकुमार गौतमले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको भौतिक पूर्वाधार र उपकरणको व्यवस्था भए पनि जनशक्तिको कमी देखाएर लामो समयसम्म सञ्चालनमा नल्याउँदा त्यस क्षेत्रका २५ जिल्लाका सर्वसाधारण उपचारका लागि भारत जानुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ भनी प्रश्न गरे ।







प्रतिक्रिया