मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँको सडकको दूरवस्थाले पर्यटकमा नकारात्मक सन्देश जाने चिन्ता

काठमाडौँको सडकको दूरवस्थाले पर्यटकमा नकारात्मक सन्देश जाने चिन्ता


काठमाडौँ । चार महिनापछि नेपाल भ्रमण वर्ष सुरु हुने गरी तयारी भइरहे पनि विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धवासी भने खुशी हुन सकेका छैनन् । 
 
चावहिलबाट बौद्ध हुँदै जाने मूल एवं भित्री सडकको दूरवस्थाका कारण पर्यटकमार्फत नकारात्मक सन्देश जाने डरले स्थानीयवासी चिन्तित बनेका हुन् । टुसाल चोकबाट हायात होटलको पूर्वी पर्खाल हुँदै भित्री मार्गबाट बौद्ध स्तूप निस्कने सडकसमेत जीर्ण छ ।
 
सडकको बीचमा खाल्डाखुल्डीले पानी जम्दा सवारी र पैदल यात्रासमेत दुःखदायी हुने गरेको छ । हायात होटल अघिको भित्रि सडकमा पसल सञ्चालन गर्ने किशोर श्रेष्ठ पानी परेका समयमा महाङ्कालदेखिको बाढी यही बाटोबाट टुसाल चोकमा आउने गरेको बताउँछन् । यसका कारण सडक जीर्ण बन्दा दायाँबायाँ बस्न नसकिने गरेको उनको गुनासो छ ।
 
घाम लागेका बेला धूलो र पानी परेका समयमा हिलोले पसलमै बस्दा पनि सटर बन्द गर्नुपर्ने स्थानीयवासीको गुनासो छ । हायात होटलको पौडी पोखरीबाट निस्कने पानीसमेत टुसाल चोकमै दह बन्ने गरेको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सांसदको समूहले दुई साता अघि यो सडकको स्थलगत अनुगमन गर्दा यो तथ्य सार्वजनिक भएको थियो ।
 
महाङ्कालबाट कुमारीगालतिर लगिएको खानेपानीको पाइप हायात होटल भित्रबाट लगिएको छ । हाल त्यो पाइप फुटेर पर्खालबाट बाहिर पानी पोखिएको छ । यसले पनि सडकलाई असर गरेको छ । 
 
काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा सङ्घीय सरकारको बजेटमा सडक विस्तार एवं कालोपत्र भइरहेकामा समयमै काम नहुँदा पर्यटकीयस्थलका बारेमा गलत प्रचार हुने खतरा बढेको बताउँछन् । 
 
स्थानीय सरकारका नाताले काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, निर्माण व्यवसायीलगायत सरोकार भएका निकायलाई छिटो काम गर्न अनुरोध गर्दा पनि सुनुवाई हुन नसकेको उनको भनाइ छ ।