मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैनः नेता पौडेल

प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैनः नेता पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियनले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले कुनै नयाँ कामको सुरुआत गर्न नसकेको बताए ।
 
“सरकारले झुटो आश्वासन मात्रै बाँड्ने काम गरिरहेको छ”, उनले भने, “आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन । देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ ।” 
 
वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागतरुपमा संरक्षण गर्न लागेको नेता पौडेलको आरोप थियो । उनले भने, “सुन काण्ड, बालुवाटार काण्ड, वाइडबडी प्रकरण, मेलम्ची, बूढीगण्डकीलगायतमा सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ । यो सरकारको कथनी र करणीमा भिन्नता छ ।”
 
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भए पनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको नेता पौडेलले बताए । उनले भने, “पूर्ण प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन । यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसको घाँटी निमोठ्ने दाउमा लागेको छ । मानवअधिकार आयोग विधेयक ल्याएर मानवअधिकार हनन गर्ने दाउमा छ ।” 
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको उनको आरोप थियो । नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्नु संविधानविपरीत भएको बताए । उनले भने, “सरकार सञ्चालन बाहिरबाट गर्नसक्ने कुरा संविधानले परिकल्पना नगरेको कुरा हो । यो सरकार संविधान कुल्चिँदै अघि बढेको छ ।”
 
देशमा आएको व्यवस्थालाई संस्थागत गर्नका लागि अब कांग्रेस एकढिक्का भएर अघि बढ्ने पौडेलले बताए । उनले भने, “अब हामी एकढिक्का भएर अघि बढ्छौँ । लोकतन्त्रमा विश्वास गर्ने सबै मानिस एक हुनु जरुरी छ ।” 
 
नेता पौडेल कार्यकर्तासँग भेटघाट र गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको ‘तीज विशेष कार्यक्रम’मा सहभागी हुन आएका पौडेलले पार्टी प्रवेश गर्नेलाई स्वागत गरे । 
 
विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई कांग्रेस केन्द्रीय सदस्य पौडेलले सदस्यता वितरण गर्दै स्वागत गरेका थिए । सतारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम दलित मुक्ति मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहार, नारायणसिंह मार्कण्डेय, धनीराम चुनारा, सरस्वती टमाटा, वकिल बोहरा, नमराज बोहरालगायत युवा कांग्रेसमा प्रवेश गरेका थिए ।